
काठमाडौं, २० भदौ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज बिहान जंगी अड्डामा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भेटवार्ताअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानसेनापतिसँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो । सम्मान गारत निरीक्षणपछि दुई देशका प्रमुखको बिचमा भेटघाट सुरु भएको नेपाली सेनाले जनाएको छ ।
सोमबार भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुनेछ । सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबीच १९५१ देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सैनिक प्रमुखको दर्जा प्रदान गर्ने चलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो मानार्थ महारथीको सम्मान लिएका थिए । पाण्डे नेपाली सेनाको महारथी पाउने १९ औँ भारतीय सेना प्रमुख हुन् ।













प्रतिक्रिया