३ कार्तिक २०८३, मंगलबार

थारु समुदायले अब अभावका गीत गाउने होइन : मन्त्री चौधरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सहरी विकासमन्त्री मेटमणि चौधरीले थारुहरूले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिबार आयोजित एसईईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘हामीले जहिले दुःखका कुरा गर्यौँ । अभावका कुरा गर्यौँ । जाँड खाएर आफू बिग्रिएका कुरा गर्र्याैँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’

देश बदल्ने हरेक आन्दोलनमा झापा देखि कन्चनपुरसम्मका थारुहरूले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला भएको बताउँदै मन्त्री चौधरीले थपे, ‘०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउँने अभियानमा थारु जाती थप सक्रिय हुनैपर्छ ।’

०६२/६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको बताएका मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दाबी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरू नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ती मोदी, सुरुंगा नगरपालिकाकी मेयर गिता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्र्यक्रममा एसइईमा विशिष्ट क्षेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।