
काठमाडौं, १९ भदौ । श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलाबारे निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले पश्चाताप गरेका छन् ।
महाअभियोगको सामना गरिरहेका चोलेन्द्रले आइतबार महाअभियोग सिफारिस समितिको सातौँ प्रश्नको जवाफ दिँदै उक्त फैसलाबारे पश्चाताप व्यक्त गरेका हुन् । उनले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको जवाफ दिएका छन् ।
यद्यपि, उनले कोइरालालाई कम सजाय गरिएको आरोप भने अस्वीकार गरेका छन् । आरोप अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो । जन्मकैद मुलुकी व्यबस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो । पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’
कोइरालालाई कम सजाय तोकिँदा प्रयोग गरिएको विवेककै कारण आफू माथि महाअभियोग लगाइएको हो भने पछुतो नभएको पनि उनले बताएका छन् । त्यसप्रति उनले जनतासमक्ष क्षमा माग्दै प्रायश्चित समेत गरेका छन् ।
‘कानुनले दिएको अधिकार प्रयोग गरेर ती दुइटा बालकहरुको भरणपोषण गर्नुपर्ने दायित्व आमाको अभावमा बाबु भएको हुनाले यो घटना पनि पारिवारिक भएको हुनाले त्यस्तो फैसला गरेको हुँ,’ उनले वयानका क्रममा भनेका छन्, ‘यस सन्दर्भमा अर्को न्यायाधीशलाई म आरोप लगाउँदिनँ । यसको मैले लिड गरेको हुँ, देशको प्रधानन्यायाधीश हुँ, मैले न्याय प्रशासनको जिम्मेवारी लिएको छु, लिन्छु ।’















प्रतिक्रिया