
काठमाडौं, १९ भदौ । एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क रेमिटेन्स पठाउन पाइने भएको छ ।
बैंकको मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मोबैंक’ मार्फत आगामी दुई महिनासम्म निशुल्क रूपमा रेमिटेन्स पठाउने पाइने भएको हो । नजिकिदो चाडवाडहरू दशैं, तिहार, नेपाल सम्बत् तथा छठ पर्वलाई लक्षित गरी बैंकले जारी गरेको योजनाअन्तर्गत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको हो ।
यो योजनालाई बैंकले आकर्षक योजनाका रूपमा लिएको पनि बताएको छ । बैंकले भदौ १५ गतेदेखि आगामी कात्तिक १५ सम्म यो योजना लागू गर्ने जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ । यसबाट आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिनुका साथै बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रूपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ ।
योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो रेमिट रकम सहज रूपमा पठाउन सक्ने छन् । यसका लागि बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘आई–रेमिट’ आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रूपमा रेमिटेन्स पठाउन सक्ने छन् ।
यसरी दैनिक अधिकतम रू. २५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।















प्रतिक्रिया