बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआरएनएका सचिव जोशीद्वारा १४ वटा अक्सिजन कन्सनट्रेटर सहयोग

कनि चाहिन्छ अक्सिजन कन्सनट्रेटर ?

दैनिक नेपाल २०७९ भदौ १४ गते १४:५२

लमजुङ, १४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बेंसीशहरमा १४ वटा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

बेंसीशहर नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद जोशीको पहलमा एनआरएनएका सचिव गौरीराज जोशीले बेंसीशहर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थालाई १२ वटा र मानवसेवा आश्रमलाई २ वटा गरी १४ वटा अक्सिजन कन्सनट्रेटर सहयोग गरेका हुन् ।

जोशीले सहयोगस्वरुप पठाएको उक्त अक्सिजन कन्सनट्रेटर सोमबार बेंसीशहर–११ का वडाध्यक्ष शिवप्रसाद जोशीले नगरप्रमुख गुमानसिंह अर्याललाई हस्तान्तरण गरेका छन् ।

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले बेंसीशहरका नागरिकलाई अक्सिजन आवश्यक पर्दा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोग गर्ने गैरआवासीय नेपाली संघका सचिव गौरीराज जोशी र पहल गर्ने वडा नम्बर ११ का वडाध्यक्ष शिवप्रसाद जोशीलाई धन्यवाद व्यक्त गरे ।

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको बेंसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । उनका अनुसार हस्तान्तरण कार्यक्रमको सहजीकरण हेल्थ असिष्टेन्ट पशुपति ढुंगानाले गरेका थिए ।

सामान्यतयाः शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९८ देखि १०० प्रतिशत भयो भने स्वस्थ मानिन्छ । ९० प्रतिशत भन्दा तल भएको खण्डमा जोखिमपूर्ण मानिन्छ । शरीरमा अक्सिजन लेभलको मात्रा घटेपछि अतिरिक्त अक्सिजनको आवश्यकता पर्दछ । त्यसबेला बिरामीलाई अक्सिजन कन्सनट्रेटर वा सिलिन्डरबाट अक्सिजन प्रवाहको आवश्यकता पर्दछ ।

अक्सिजन कन्सनट्रेटर वातावरणमा रहेको अक्सिजनलाई फिल्टर गरेर सफा अक्सिजन उत्पादन गर्दछ । अक्सिजन कन्सनट्रेटरले हावाबाट अक्सिजन फिल्टर गर्छ र बिरामीले मास्क र क्यानुलाबाट अक्सिजन प्राप्त गर्छन् । हावामा २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु ग्यासहरु हुन्छन् । यसले हावामा रहेको अक्सिजन तान्छ र ग्यासहरुलाई फिल्टर गर्छ ।

विश्व स्वास्थ्य संगठनको २०१५ को रिपोर्ट अनुसार अक्सिजन कन्सनट्रेटर निरन्तर रुपमा चलाउनका लागि प्रभावकारी छ । यसले पाँच वर्ष वा सो भन्दा बढीसम्म अक्सिजन उत्पादन गर्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित