२९ आश्विन २०८३, बिहिबार

तीजमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बनेको छः राष्ट्रपति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीज जस्ता पर्वहरुमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको बताएकी छन् ।

हरितालिका (तीज), २०७९ को शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले मौलिक र परम्परागत रीतिरिवाजलाई ध्यानमा राखेर विकृति र विसंगतिलाई न्यून गर्दै तीज मनाउनपर्नेतर्फ जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, ‘आदर्शमय सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको छ । तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नु पर्दछ । अतः हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आव्हान गर्दछु ।’

उनले तीजका अवसरमा सम्पूर्ण नेपाली महिलाहरुलाई शुभकामना दिएकी छन् ।

‘हिन्दू धर्मावलम्बी महिलाहरूलेभाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्‍चमीसम्म विभिन्न व्रत,अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्त्व रही आएको पाइन्छ । परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ । हरितालिका (तीज)पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्‍वाससहित पुनः शुभकामना प्रकट गर्दछु,’ सन्देशमा भनिएको छ ।