बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बल हानेर विमान खसालिदिने फुटबलर

दैनिक नेपाल २०७९ भदौ १३ गते १०:२४

एजेन्सी, १३ भदौ । रोबर्टो ग्याब्रियल ट्रिगो पाराग्वेका अवकाशप्राप्त फुटबल खेलाडी हुन् । उनी सायद एक्लो व्यक्ति हुन् जसले बल हानेर सानो विमान खसालिदिएका छन् ।

बललाई किक हानेर विमान झारिदिएको कथा पाराग्वेका फुटबल क्लबका लकर रुममा विगत ६ दशकदेखि लगातार गुञ्जिरहेको छ । कतिले यो घटना प्रतिस्पर्धाकै बेलामा भएको बताउँछन् भने कतिले यो घटना अभ्यास खेलको क्रममा भएको हो भनेर दाबी गर्छन् तर यी सबैले यसका लागि एउटै व्यक्तिलाई श्रेय दिन्छन्न – रोबर्टो ग्याब्रियल ट्रिगो ।

उनी त्यतिबेला १७ वर्षका थिए र असङसियनस्थित जनरल जिन्स फुटबल क्लबको पछाडि पट्टी फुटबल खेलिरहेका     थिए । स्थानीय फुटबल ग्राउन्डको माथिबाट उडिरहेको सानो विमानसँग उनलाई रिस उठ्यो त्यसैले उनले बल माथितर्फ हाने । बल सिधै गएर विमानको इन्जिनमा पर्यो र उनीभन्दा २०० मिटर पर खस्यो ।

‘उनले सधैँ खेल र अभ्यासका बेला विमान उडाउने गर्दथे । मैले त्यतिबेला उनलाई भन्ने गर्थेँ ‘यस्तो नगर है, नभए म तिमीलाई बलले हानिदिन्छु,’ उनको यस्तो कुरा गरेको सुनेर बेस्सरी हाँसे, किनभने उनी मेरा साथी थिए,’ ट्रिगोले केही वर्ष अघि इएफइसँगको कुराकानीमा भनेका थिए ।

यसवर्ष ८० वर्ष पुगेका पूर्व फुटबलरलाई आफ्नै देशमा लेजेन्ड बनेको दिनको सबै विवरण सम्झँदैनन् तर उनलाई के याद छ भने त्यो सन् १९५७ फेब्रुअरीको महिना थियो, प्रेसिडेन्टे हायेस फुटबल क्लबसँगको प्रतिस्पर्धाको समयमा ।

लर्डले सधैँ झैँ निकै तल विमान उडाइरहेका थिए, विपक्षी समूहबाट कर्नर किक आएपछि रोबर्टो ग्याब्रियल ट्रिगोले बल आफ्नो खुट्टामा लिए र उक्त विमानतर्फ हिर्काए । उनले त्यतिबेला सोचेकै थिएनन् कि बल विमानमा ठोक्किनेछ तर दुर्भाग्यवश त्यस्तै भइदियो र विमान तल खस्यो ।

‘केही समयको लागि खेल रोकियो । म आत्तिएँ । उनीहरुले मलाई समाते र चिसो पानी पिउन दिए, टाउकोमा पानी खन्याइदिए । उनीहरुले भनिरहेका थिए, ‘नआत्तिउ, केही भएको छैन, पाइलट ठिक छन्’ । यो कुराले मलाई केही राहत दियो,’ ट्रिगोले सम्झिए ।

उनलाई पछि थाहा भयो कि त्यतिबेला लर्ड आफ्नो सानो छोरासँगै थिए । तर नजिकै खुल्ला स्थानमा खसेपछि यी दुबैलाई केही पनि भएन । कुरा सबै मिलेपछि खेल पुनः सुरु भयो र ट्रिगोको समूहले खेल २–० ले जिते ।

‘लर्ड मसँग रिसाएनन् । हामी साथी थियौँ र हामीले यसै विषयमा धेरै ठट्टा गर्ने गर्दथ्यौँ । समस्या के थियो भने हामीले त्यस्तो होला भनेर खासमा सोचेकै थिएनौँ,’ उनले भने ।

ट्रिगोको यो घटना पाराग्वेको समाचारको हेडलाइन बन्यो । बल हानेर विमान खसालेको घटना अमर कथा बन्यो । जनरल जिन क्लब अहिले अस्तित्वमा छैन तर पनि धेरैलाई रोबर्टो ग्याब्रियल ट्रिगोबारे थाहा छ ।

प्रतिक्रिया
सम्बन्धित