
खरसाङ, १३ भदौ । नेपालका नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र सम्झना बिर्सना आगामी ९ सेप्टेम्बरदेखि भारतका सिनेमा घरहरुमा प्रदर्शनमा आउने भएको छ ।
चियाबारीको सङ्घर्षमय जीवनलाई आधार बनाएर निर्मित चलचित्र ‘सम्झना बिर्सना’मा शर्मा र श्रेष्ठ मुख्य पात्र छन् । खरसाङमा ‘गडवीन’ स्कूल स्थापना गरेर शिक्षालाई विस्तार गरिरहेका अनि गोर्खा सांस्कृतिक संस्थानमा आजीवन सदस्य रहेर सामाजिक कार्यमा सहयोग गर्दै आएका अद्वित्य प्रधान र उनका श्रीमती रेबेका प्रधानले यो चलचित्र निर्माण गरेका हुन् । यस चलचित्रका निर्देशक दार्जीलिङ पहाडकै सेलेमबोङ चियाबगानका युवा निमेष प्रधान रहेका छन् भने कथा पनि उनकै हो ।
नेपालका सिनेमा घरहरुमा यो चलचित्र १५ जुलाईदेखि नै प्रदर्शन भइसकेको छ । अब यता भारतका सिनेमा घरहरुमा प्रदर्शन हुनअघि आइतबार खरसाङमा प्रोमोसनको लागि गोर्खा सांस्कृतिक संस्थानले विशेष पत्रकार सम्मेलन आयोजना गरेको हो ।
संस्थानकी अध्यक्ष आशा लामा मुखियाले ‘सम्झना बिर्सना’ चलचित्रले दार्जीलिङ पहाडको चियाबारीको समस्यालाई उजागर गर्नका साथै यहाँको पर्यटनको क्षेत्र र दार्जीलिङको सानो रेलको विश्वव्यापी प्रचारमा थप सहयोग पुग्ने बताइन् । रोजगारको लागि पनि चलचित्र सशक्त माध्यम रहेको उनले आफ्नो विचार प्रकट गरिन् । संस्थानका शीर्ष सदस्य हेमन्त दर्नालले चलचित्रको बारेमा बताए ।
नेपालमा तीन हप्ता चलचित्र सफलतापूर्वक चलेपछि दुई निर्माता अद्वित्य प्रधान र रेबेका प्रधानलाई फेरि अर्को पनि चलचित्र निर्माण गर्ने जाँगर चलेको देखियो । सन् २०१६ देखि नै ‘सम्झना बिर्सना’को योजना चलिरहेको अद्वित्य प्रधानले बताए । उनका अनुसार आउँदो ७ सेप्टेम्बरमा दार्जीलिङमा प्रिमियर शो हुनेछ िपहिलो चरणमा दार्जीलिङ, कालेबुङ, खरसाङ, गान्तोक (सिक्किम), सिलगढी र डुवर्सको मालबजारमा प्रदर्शन हुनेछ । यसपछि दोस्रो चरणमा उत्तरपूर्वी राज्य असममा जाने उनले बताए िचलचित्रका निर्देशक एवं पटकथाका लेखक निमेष प्रधान आफू स्वयंले चियाबगानको सङ्घर्षमय जीवनलाई देख्दै आएका हुनाले ‘सम्झना बिर्सना’को आधार पनि यसैलाई बनाएका छन् ।
मुम्बई बसेर भारतका राष्ट्रिय च्यानल सोनी टीभीमा चल्ने लोकप्रिय धारावाहिक सीआईडी र क्राइम पेट्रोलमा साउण्ड इन्जीनियरको काम गरेर राम्रो अनुभव बटुलेका युवा निर्देशक हुन् निमेष प्रधान । यसबाहेक उनले लघु चलचित्र ‘थर्टी डेज नोट बुक’ बनाइसकेका छन् । आफ्नो अनुभवलाई निमेशले अहिले नेपाली चलचित्रमा प्रयोग गरिरहेका छन् । चलचित्रमा दार्जीलिङ पहाडी भेक साथै सिक्किमका कलाकारहरुको संख्या बढी रहेको छ । ‘सम्झना बिर्सना’पछि अब अर्कोको लागि पनि तयार गर्ने विचारमा रहेको अद्वित्य प्रधानले बताएका छन् ।













प्रतिक्रिया