सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘कुशे औंसी र म’

युवराज रोइला २०७९ भदौ ११ गते १३:१०

-युवराज रोइला

‘बुबा’ शब्द आफैंमा यस्तो शब्द हो जो बिना उहाँका छोराछोरीहरु धर्तीमा पहिलो पाईला राख्न र संसार नियाल्न असमर्थ हुन्छन ।

हरेक सन्तानहरुको पहिलो पाईला चाल्नमा उहाँकै हातको कान्छी औंला सहारा बन्नदेखि लिएर आफ्ना सन्तानहरुको जीवनमा आइपर्ने विविध आरोह अवरोहहरुमा पहाड बनेर उभिन सम्म उहाँको अतुलनीय भूमिका रहेको हुन्छ ।

उहाँ आफूलाई थाहा हुन्छ कि मेरो गोजीमा पैसा छैन गोजी खाली छ । तर यसको बाबजुद पनि उहाँले सन्तानलाई कहिल्यै खाली गोजीको आभास दिलाउनु हुन्न । सन्तानहरुको खुशीको निम्ति आफ्ना खुशीहरुलाई सहजै आहुती लगाएर सन्तानहरुको खुशीमा आफ्ना खुशी देख्नुहुन्छ ।

जसरी मियो बिना कुनै पनि दाईँको परिकल्पना सम्म गर्न सकिदैन, त्यसैगरि ‘बुबा’ बिना म त्यो अबोध बालापनदेखि हालसम्म कहिलेकाहीँ यस्तै–यस्तै महसुस गर्छु ।

मैले मेरो बाल्यकालमा नै ‘बुबा’ गुमाएपनि माथि उल्लेखित कुराहरु मैले जीवनमा स्वयम प्रत्यक्षदर्शी भएर नियाल्ने अवसर पाएको छु । नत मेरो निम्ति पहिलो पाईला चाल्न ‘बुबा’को हातको कान्छी औंला नै सहारा भन्यो, नत मेरो अबोध बालापनदेखि हालसम्म मैले मेरा सुखदुःखमा उहाँको साथ नै पाँए, पाँए त केबल उहाँको एक थान मौन तस्बिर ।

बाल्यकालदेखि हालसम्म मैले मेरी आमालाई बुबाआमा दुबैको रुपमा पाएको छु । तर बुबाको अभाव बेलाबेलामा यदाकदा छल्किने गर्दोरहेछ । जसरी मियो बिना कुनै पनि दाईँको परिकल्पना सम्म गर्न सकिदैन, त्यसैगरि ‘बुबा’ बिना म त्यो अबोध बालापनदेखि हालसम्म कहिलेकाहीँ यस्तै–यस्तै महसुस गर्छु ।

यी सबै बाट बाहिर ओर्लेर बाबुआमा साथमा भएका अधिकांश सन्तानहरुले आफ्ना आमाबाबुलाई बेवास्ता गरेर आफ्नो सान्तसुखायमा रमेको देख्दा मनमा एक अनौठो पीडारुपी भाव पैदा हुन्छ । सायद उहाँहरुले पनि मैले जस्तै अभाव झेल्नुपरेको भए व्यक्तिगत सान्तसुखायमा तल्लीन हुनुहुँदैन थियो होला, अनि बाबुआमा सन्तानलाई सम्झदै रुनु पर्दैन थियो होला ।

अन्तमा, भगवानको कृपाले आज मैले जन्म दिने ‘बुबा’ लाई मेरो साथमा नपाए पनि कर्म दिने ‘बुबा’ (ससुरा) पाएको छु । उहाँमा मैले मेरो ‘बुबा’ लाई पाएको छु । बेबाबेलामा मैले उहाँसँग फोनमा कुरा गर्ने गरेको छु।

उहाँको सन्चो बिसन्चो बुझ्ने गरेको छु । हामी बिच धेरै कुराहरु आदान–प्रदान हुने गरेका छन । उहाँले मलाई सहि मार्गनिर्देश गर्नुहुन्छ । म खुशी छु । अन्ततः कुशे औंसी २०७९ को पावन अवसरमा तपाइँ सम्पूर्ण जीवित तथा स्वर्गीय ‘बुबा’हरुप्रती हार्दिक नमन व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित