शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दशौँ संस्करणको ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने

दैनिक नेपाल २०७९ भदौ १० गते १३:१६

काठमाडौँ, १० भदौ ।  विगतमा जस्तै यसपटक पनि ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने भएको छ । सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने आयोजकले जनाएको छ । पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित हुने मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ । भदौ १४ गते सहभागीहरूलाई ओरेन्टियसन गराइने उनले बताए । प्रतियोगितामा १८ देखि २८ वर्षसम्म उमेर समूहका देशभरका युवतीले भाग लिन पाउनेछन् । सहभागी युवतीको उचाइ ५:४ इन्च र +२ पास गरेको हुनुपर्नेछ । मिस ग्रान्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने उनको भनाइ छ ।

त्यसैगरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने छन् । प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने उनले बताए । केही निर्णायक थप हुन सक्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए । त्यस्तै र्यापर लाहुरेले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए ।

ग्रान्ड फिनाले भदौ २५ गते काठमाडौँस्थित होटेल मेरियटमा हुने छ । प्रतियोगिताले मुख्यतया नेपाली युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सर्वाङ्गीण व्यक्तित्व विकास गर्न सहयोग आयोजकको विश्वास छ । साथसाथै विश्व मञ्चमा नेपाललाई चिनाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनले बताए । बोली क्लब ग्रुप र कस्मो इभेन्ट्सले विभिन्न समयमा सांगीतिक कार्यक्रम गर्दै आएको छ । मिस ग्राण्ड नेपाल मिस ग्राण्ड इन्टरनेसनलको मान्ता प्राप्त इभेन्ट्स हो ।

प्रतिक्रिया
सम्बन्धित