२९ आश्विन २०८३, बिहिबार

पर्यटनको विकासका लागि प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ४ भदौ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री दिल्ली बहादुर चौधरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आर्थिक उन्नतिसँग जोडिएको क्षेत्र नै पर्यटन भएकोले लुम्बिनी प्रदेश सरकार यसको विकासको लागि गम्भीर रहेको बताए ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको १४ औ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकार पर्यटन व्यवसायीसँग मिलेर काम गर्न चाहेको बताए । चौधरीले आफुहरुको ध्यान व्यवसायहरु कसरी सुरक्षित बनाउने र कसरी प्रवर्द्धन गर्ने बिषयमा बढि रहेको जानकारी दिए ।

मन्त्री चौधरीले प्रदेश सरकारले रात्रीकालीन होटल संचालनको लागि छलफल गरिरहेको बताए । चौधरीले भने रातीमा होटल संचालन गर्न दिएर मात्र भएन सुरक्षित र अनुशासित ढङ्गले संचालन हुनुपर्यो, त्यसैले हाम्रो ध्यान कसरी सुरक्षित र अनुशासित रुपमा रात्रिकालीन होटल संचालन गर्न सकिन्छ त्यसमा रहेको छ ।

मन्त्री चौधरीले सरकार र व्यवसायीबीच मित्रतापुर्ण सम्बन्ध कायम हुनसके मात्र व्यवसायहरु फस्टाउने बताए । चौधरीले लुम्बिनी प्रदेशको पर्यटन ऐन ल्याउने क्रममा रहेको र व्यवसायीहरु सँगको छलफल बाटनै ऐनलाई पूर्णता दिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) केन्द्रिय अध्यक्ष रमेश थापाले पर्यटनको विकासको लागी अनुकुल वातावरण सिर्जना र पूर्वाधारको विकास महत्वपूर्ण रहेको बताए । थापाले प्रदेश सरकारले पर्यटन ब्यवसायीहरुलाई प्रोत्साहनको व्यवस्था गर्नसके व्यवसायीको मनोवल बढ्दै जाने जानकारी दिए । थापाले नेपालको पर्यटन क्षेत्रको बिकासमा प्रमुख समस्या एयर कनेक्टिभिटी र ल्याण्ड ट्रान्सपोर्ट भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले नेपालको विकासको लागि निर्विकल्प क्षेत्र पर्यटन भएको बताए । अधिकारीले लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर संभावना भएपनि काम भने हुन नसकेको जानकारी दिए । अधिकारीले पर्यटनमैत्री निती नभएकाले समस्या भएको बताए ।

अधिकारीले नेपालको पर्यटन बिकास नहुनुको प्रमुख कारण अव्यवस्थित बिमानस्थल भएको बताए । अधिकारीले नेपालमा महङ्गो लगानी लगाएर बिमानस्थल निर्माण भएपनि त्यसभित्र भएका सेवा खराव भएका कारण पर्यटन क्षेत्र पछि परेको दावी गरे ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रचना पन्तको स्वागतमा भएको कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दाहाल, लुम्बिनी प्रदेश पर्यटन बिकास परिषसका प्रमुख कार्यकारी अधिकृत रामु जोशी, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का पुर्व केन्द्रिय अध्यक्ष अच्युत गुरागाई, नाट्टा मधेस प्रदेश अध्यक्ष मोहन शर्मा, नाट्टा सुदुरपश्चिम प्रदेश अध्यक्ष पदम बिक्रम सिंह, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा नाट्टा लुम्बिनी प्रदेश पर्यटन पत्रकारिता पुरस्कार समता टेलिभिजनका पत्रकार प्रतिक पौडेललाई प्रदान गरिएको थियो भने जजिराका नेपाल प्रतिनिधि अमित नागराथलाई सम्मान गरिएको थियो ।कार्यक्रम नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका महासचिव चन्द्र बहादुर थापाको संचालनमा भएको हो ।

यस्तै शनिवार भएको अधिवेसनमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा रचना पन्त निर्वाचित भएकी छन् ।शनिबार भैरहवामा सम्पन्न नाट्टाको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता धर्मबहादुर खड्काका अनुसार संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर थापा, द्वितिय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा अन्जन श्रेष्ठ, सचिवमा ज्ञानुमाया पोखरेल, कोषाध्यक्षमा सुजित श्रीवास्तव र सह–कोषाध्यक्षमा बिराट श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

नाट्टाको कार्यसमिति सदस्यमा सीता बस्याल, मन्जु गिरी पुरी, गणेश भट्टराई, गोबिन्द सिंह सलुजा, फणिन्द्र पौडेल, बिना न्यौपाने र दिपेश गुप्ता चयन भएका छन् ।