
काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारसम्ममा नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिनुपर्ने भएको छ ।
संवैधानिक व्यवस्थाअनुार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयकलाई १५ दिनभित्र निर्णय दिइसक्नुपर्छ । सभामुख सापकोटाले १५ साउनमा प्रमाणीकरणका लागि पठाएको विधेयक अब राष्ट्रपति भण्डारीले मंगलबारसम्ममा प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने निर्णय लिनुपर्ने हुन्छ ।
कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेमा राष्ट्रपतिले विधेयक आएको १५ दिनभित्र संसदमा नै पठाउन सक्ने संवैधानिक प्रावधान छ ।
संविधानको धारा ११३ (३) मा, ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित उत्पति भएको विधेयक सदनमा फिर्ता पठाउने छ’ भन्ने कारण पनि राष्ट्रपति भण्डारी मंगलबारभन्दा पछि विधेयक रोक्न सक्ने संवैधानिक वा कानुनी अधिकार देखिदैन ।
राष्ट्रपति कार्यालयले विधेयकबारे अध्ययन भइरहेको जनाएको छ । त्यस्तै, सत्तारुढ दलका नेताहरुले विधेयक प्रमाणीकरण भएर आउने विश्वास व्यक्त गरेका छन् । उता प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु तथा नागरिक समाजका अगुवाहरुले विधेयक फिर्ता गर्नुपर्ने माग राख्दै आएका छन् । यसबीचमा अब राष्ट्रपति के गर्ने भन्नेबारे जान्न भने मंगलबारसम्म कुर्नैपर्ने हुनेछ ।















प्रतिक्रिया