बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रदीप श्रेष्ठ फेरि बने न्यूयोर्कका लागि नेपाली पर्यटन दूत

दैनिक नेपाल २०७९ साउन २६ गते ७:४९

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका नेपाली पर्यटन व्यवसायी प्रदीप श्रेष्ठ फेरि पर्यटन दूत नियुक्त भएका छन् ।

नेपाल सरकार, पर्यटन मन्त्रालयअन्तर्गत नेपाल पर्यटन बोर्डले व्यवसायी श्रेष्ठलाई आगामी २ वर्षको लागि न्यूयोर्कको लागि पर्यटन दूत नियुक्त गरेको हो । श्रेष्ठ यसअघि पनि २०१६ देखि २०१८ सम्म न्यूयोर्कका लागि पर्यटन दूत भएका थिए ।

नेपालदेखि नै पर्यटन व्यवसायमा संलग्न श्रेष्ठ हाल होटल उडल्याण्ड काठमाडौं दरबारमार्गको संचालक समेत हुन् । श्रेष्ठले न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन गर्न पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गर्ने गरेको र निरन्तर गर्ने जानकारी दिएका छन् ।

नेपाल प्रवर्द्धन अभियान अमेरिकाभरी नै गर्ने योजनामा रहेका श्रेष्ठले २०२३ को अन्तिमतिर अमेरिकाबाट ठूलो पर्यटक ग्रुप नेपाल भ्रमणमा लैजाने तयारी गर्दै गरेको पनि जानकारी दिएका छन् । २०१८ मा नै पर्यटन दूतको कार्यकाल सकिए पनि श्रेष्ठ नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर लागि रहेका थिए ।

२०१९ को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा न्यूयोर्कका नेपाली समुदायको सहयोगमा टाइम स्क्वायरमा भव्य सांस्कृतिक कार्यक्रम गर्न सफल भएका थिए । श्रेष्ठले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने अभियानमा साथ र सहयोग गर्न सबैलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित