३० आश्विन २०८३, शुक्रबार

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।

यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटाभन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ ।

इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाईलमार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ ।

यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुनेछ ।

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ ।

टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने “आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आमलगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।