
काठमाडौं, २१ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वीरतालाई पूजा गर्ने नेपाली जनताले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई पनि पूजा गर्ने बताएका छन् ।
एमाले र केपी ओलीविरुद्ध आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने सत्ताधारी दलको रणनीति काँतर र कायर भएको टिप्पणी गर्दै डा. दिक्षितले सो कुरा बताएका हुन् । सत्ताधारी दलहरूले आ–आफ्नो नीति, विचार र सिद्धान्तलाई बिर्सिएको तथा एमाले अध्यक्ष ओली सिद्धान्तबाट नडगमगाएको भन्दै उनले केपी ओलीको प्रसंशा समेत गरेका छन् ।
‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिँडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’
दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे । माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरेका छन् । उनले भने, ‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुई जिब्रे कुरा हो । यो लाचारीपन हो ।’
उनले अगाडि भने, ‘काङ्ग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरूले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होइन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरू पहिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।’
मुलुकमा लोकतन्त्र बचाउन र अर्को ‘कू’ नगराउने हो भने कुनै पनि हालतमा गठबन्धनबाट आउनेहरूलाई जिताउन नहुने उनको तर्क छ । उनले भने, ‘यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँड गरेर आउ, मेरो आपत्ति छैन् । हामीले चाहेको संघीयता यस्तो होइन ।’ उनले देश खत्तम पार्ने नेताहरूलाई भोट दिन नहुनेमा पनि जोड दिएका छन् ।















प्रतिक्रिया