
तनहुँ, २१ साउन । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारले राष्ट्रियसभामा पेश गरेको नागरिकता विधेयक चाहेर पनि आफूहरूले रोक्न नसकेको बताएकी छिन् ।
नागरिकता विधेयकमा भएको विदेशी चेलीले नेपाली पुरुषसँग विवाह गरेर आएको भोलिपल्टै नागरिकता लिन पाउनेगरी सरकारले ल्याएको विधेयक राष्ट्रहितविपरीत भए पनि त्यसलाई रोक्न नसकिएको उनले बताइन् । अखिल नेपाल महिला संघ जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सासंद न्यौपानेले भनिन्, ‘राष्ट्रहितविपरीत हुँदाहुँदै पनि संसदमा हुने गणीतीय खेलका कारण नेकपा एमालेले रोक्न सकेन ।’
नेपाली काङ्ग्रेस, माओवादी र संसदमा प्रतिनिधित्व गर्ने सासंदहरुसँग आफूले यो विधेयक रोक्नका लागि छलफल गरेको बताउँदै उनले छलफलका क्रममा राष्ट्रियसभा सासंदहरु सकारात्मक पनि विधेयकको विपक्षमा मतदान गर्न नसकेको स्पष्ट पारिन् । दलगत ह्वीपले गर्दा उनीहरूले दलीय उर्दी उल्लंघन गर्न नसकेको उनको भनाइ छ ।

‘उनीहरू (राष्ट्रिय सभा सदस्य)का दलले गरेको प्रस्तावको पक्षमा मतदान गर्नुस् भनेर ह्वीप जारी गरे । उनीहरूले त्यही ह्वीपलाई सदर गरिदिए । यसरी राष्ट्रहित विरुद्धको नागरिकता विधेयक राष्ट्रियसभाबाट समेत पारित भयो,’ उनले भनिन् । एउटा दल र व्यक्तिले चुनाव जित्नु र हार्नुको परिणाम अहिले देशले भोगिरहेको उनको भनाइ छ ।
पार्टीले बोकको एजेण्डा महत्वपूर्ण हो । हामीले यस कुरामा विश्वास नगर्दा आफ्नो र राम्रो मान्छे भनेर फरक पार्टीको प्रतिनिधिलाई जिताउँदा देश र जनताको नै अस्तित्व गुमाउनुपर्ने हुँदा पार्टी निर्णयको पक्षमा उभिएर परिवर्तन र विकासमा भूमिका खेल्न उनले आग्रह गरेकी छिन् ।















प्रतिक्रिया