बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

पाँचौँ पटक पनि जुम्ल्याहा सन्तान जन्माएको भन्दै श्रीमान् घर छोडेर भागे

दैनिक नेपाल २०७९ साउन २० गते १३:४७

केही मानिस सन्तानको मुख हेर्न कुनै पनि मूल्य चुकाउन तयार हुन्छन् तर कतिले भने आफ्नै सन्तानलाई छोडेका हुन्छन् । श्रीमतीले पाँचौँ पटक पनि जुम्ल्याहा सन्तान जन्माएको भन्दै युगान्डामका एक व्यक्तिले घर छोडेका छन् ।

नालोङ्गो ग्लोरियाले गर्भवती हुन कहिल्यै आइभीएफ उपचार पद्धति अपनाउनु परेन तर उनले जुम्ल्याहा सन्तान जन्माउन भने आफूलाई रोक्न सकिनन् । युगान्डाकी यी महिलाले हालै आफ्नो नवौँ र दशौँ सन्तान जन्माएकी छिन् । उनीहरुको जन्मपछि यी महिलाका श्रीमान् सालोङ्गो पोको पुन्तुरो बनाएर घरबाट निस्किएका छन् । सालोङ्गोले यो साधारण नभएको भन्दै अब उप्रान्त उनले श्रीमती र आफ्ना सन्तानको हेरविचार गर्न नसक्ने घोषणा गर्दै घर छोडेको बताइन्छ ।

‘जब म पुनः जुम्ल्याहा भ्रुणसहित गर्भवती भएँ तब उनले यो अति नै भएको बताउँदै मलाई माइती जान भने, ’ नालोङ्गोले एक अन्तरवार्तामा भनिन् । ‘उनले मलाई जहाँ पठाउन खोजिरहेका थिएँ, त्यहाँको कसैको पनि नम्बर मसँग थिएन किनभने म काम गर्न भन्दै काम्पाला आएकी थिएँ । मैले एउटा सन्तान मात्रै जन्माउन सक्दिनँ भने उनले मेरो हेरविचार गर्न नसक्ने बताए ।’

एकदिन जब उनी बाहिरबाट घर पुगिन् तब उनले श्रीमानले आफ्नो सबै सामान झोलामा राखिरहेको देखिन् । त्यसपछि उनी आफ्नो सबै सामान भएको झोला बोकेर निस्किए । त्यतिबेलादेखि श्रीमानको अत्तोपत्तो छैन । आफ्ना सन्तान हुर्काउन उनलाई असाध्यै गाह्रो भइरहेको छ । तरपनि उनलाई केही कुराको अफसोस छैन र भगवानप्रति उनको आस्था यथावत् छ ।

‘यी सन्तान जन्माएकोमा मलाई कुनै पश्चाताप छैन । मलाई थाहा छ, यिनीहरुका पितालाई उनीहरु मन पर्दैनन् तर मैले आफ्ना सन्तानलाई छोड्न त सक्दिनँ नि । यहाँ चुनौतीको पहाड छ तर म उनीहरुलाई कहिल्यै छोड्ने छैन । भगवानले पूरा गरिदिनुहुन्छ, मलाई थाहा छ,’ ग्लोरियाले भनिन् । ‘मैले धेरै नै समस्या झेलेँ तर सबैभन्दा धेरै त भगवानलाई नै थाहा होला ।’

नालोङ्गो हाल आफ्ना सात सन्तानसँग बस्छिन् । उनका सबैभन्दा जेठा जुम्ल्याहा सन्तानले गुँड छोडिसकेका छन् । साथै उनका एकजना सन्तानको मृत्यु पनि भइसकेको छ । यिनीहरुको भविष्य अनिश्चित छ, किनभने उनीहरुको घरका मालिकले अब उनीहरुलाई छोड्न भनिसकेका छन् ।

नालोङ्गोको घटनाले युगान्डाकी सबैभन्दा फर्टाइल वुमनको स्मरण गराइदिएको छ जसले ४० वर्षको उमेरमा ४४ सन्तान जन्माइसकेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित