शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मनाङ आउने बाह्य पर्यटक बढे

दैनिक नेपाल २०७९ साउन २० गते ११:५४

मनाङ, २० साउन । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् ।

आव २०७८/७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको प्रमुख गौतमले बताए ।

आव २०७८/७९ को साउनमा दुई, भदौमा २०, असोजमा ३२२, कात्तिकमा एक हजार १५, मङ्सिरमा ३६६, पुसमा ८६, माघमा ५१, फागुनमा ५२८, चैत्रमा दुई हजार ४७, वैशाखमा एक हजार ९३६, जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

“जिल्लामा बाह्य पर्यटक भित्रिदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ । बाह्य पर्यटकलाई अनुमति बिना प्रवेश दिइँदैन तर आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन । शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ”, उनले भने ।

आव २०७७/७८ मा कोभिड–१९ को सङ्क्रमणका कारण मनाङमा कूल ६०३ बाह्य पर्यटक भित्रिएकामा सबैभन्दा धेरै सार्क राष्ट्रका थिए । कोरोनाको पहिलो, दोस्रो असरले सताएर सङ्क्रमण कम भएसँगै पर्यटकको आगमन वृद्धि हुन लागेको अवस्थामा पुनः कोरोनाको तेस्रो लहर आएपछि पदमार्ग सुनसान भएको थियो ।

वर्षायाममा सवारीसाधनको आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको थियो । पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकका नागरिक मनाङको भ्रमणमा आउने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन् ।

थोरालाङ्लाबाट मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन् । उक्त पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित पैदल यात्राको सुरुवात गर्दछन् । –रासस

प्रतिक्रिया
सम्बन्धित