बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नर्भिक अस्पतालमा यूरोलोजीको ओपीडी सेवा निःशुल्क

दैनिक नेपाल २०७९ साउन १९ गते १५:३०

काठमाडौं, १९ साउ । नर्भिक अस्पतालले यूरोलोजीको बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।

अस्पतालले सञ्चालन गर्दै आएको विशेष अभियानअन्तर्गत अगामी शनिबार विशेषज्ञसहितको दुई वटा यूरोलोजी टीमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागिएको अस्पतालले बताएको छ ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टीम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टीम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागिएको अस्पतालको भनाइ छ । अस्पतालले विगत लामो समयदेखि यूरोलोजी टीमकै विशेष निःशुल्क ओपीडी सेवा अभियान सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपीडी यसमै केन्द्रित गरिरहेको हो । अस्पतालका अनुसार यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टीमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछन् ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टीमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टीमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपीडीबाट लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छूटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित