
काठमाडौं, १७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँसहित घुससहित पक्राउ गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ फेला पारेको छ ।
अख्तियारले नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । उनको गाडीबाट थप साढे १६ लाख भेटिएसँगै साढे २२ लाख रकम फेला परेको हो ।
अख्तियारका अधिकारीका अनुसार उपसचिव नेपालले त्यो रकमको स्रोत खुलाउन सकेका छैनन् । उनलाई अनुसन्धान तथा सोधपुछ गर्दा थप रकम फेला परेको बताइएको छ ।
अख्तियारले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।
प्याराग्लाईडिङ सञ्चालनको अनुमती पत्र दिने क्रममा नेपालले घुस मागेका अख्तियारले जनाएको छ ।
सम्बन्धित व्यापारीले अख्तियारलाई खबर गरी रकम दिने योजना बनाएका थिए । त्यही क्रममा नेपाल पक्राउ परेका बताइएको छ ।
अख्तियारले नियमित खानतलासी गर्दा थप रकम फेला परेको जनाएको छ ।
३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।















प्रतिक्रिया