३० आश्विन २०८३, शुक्रबार

माधव नेपाल र प्रचण्डले जनतामाथि गम्भीर घात गरे : शंकर पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले फुटाएर गएका माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र देशमाथि गम्भीर घात गरेको बताएका छन् ।

उनले जनतामा गएर लिएको माण्डेटलाई धोका दिएर प्रचण्ड र माधवले गम्भीर अपराध गरेको बताए । ‘जनतामा जाँदा एउटा कुरा भन्ने, जनताको म्याण्डेट लिएर आएपछि अर्कै काम गर्न मिल्छ ? यो जनताको म्इाण्डेटमाथि गरिएको गम्भीर घात हो, यस्तो कुरालाई गम्भीर अपराधका रुपमा लिनुपर्छ,’ पोखरेलले भने ।

आइतबार युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, महासचिव पोखरेलले झण्डै तीन दशक पार्टीको नेतृत्व गरेका प्रमुख नेताहरु नै पार्टी छाडेर जाँदासमेत नेकपा एमालेको जनमत नघटेको बताए ।

गत वैशाख ३० गते भएको निर्वाचनमा सत्तारुढ दलले प्रतिपक्षी दललाई घेराबन्दी गरेपनि लोकप्रिय मत भने एमालेको बढी आएको पोखरेलको भनाइ थियो ।

‘स्थानीय तहको निर्वाचनमा एमालेको जनमत बढेको छ । लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले पार्टी छाडदा पनि एमालेको भोट घटेको छैन, बढेको छ,’ राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै महासचिव पोखरेलले भने ।

‘अवसरवादले माधव नेपाल समाप्त भए । कस्तोसम्म देखियो भने एमालेले लामो मेहनत गरेर बिधि र पद्धती मान्ने नेताका रुपमा, समन्वयकारी नेताका रुपमा छवि बनायो तर अवसरवादले समन्वयकारी नेता पार्टी बिभाजनकारी नेताका रुपमा कलंकित हुनुभयो, विधि पद्धती र अनुशासन पालना गर्ने नेता माधव नेपाल संसदीय इतिहासमै सबैभन्दा बढी ह्वीप उलंघन गर्ने नेताका रुपमा कलंति भए,’ महासचिव पोखरेलले भने, ‘अर्थात माधव नेपाल सम्पुर्ण रुपमा समाप्त भए । अवसरवाद कस्तो हुन्छ भने कुरा दुनियालाई प्रमाण भयो ।

केपी शर्मा ओली र एमालेले मात्रै मुलुकको विकास गर्ने थाहा पाएरै गठबन्धनका दलहरुको त्रास बढेको पोखरेलले बताए । ‘गठबन्धन कुनै सिद्धान्तका आधारमा बनेको होइन, यो त देशलाई बर्वाद बनाउनका लागि हो, हामी नमिले फेरि केपी ओली आउँछन र बिकाशका काम अघि बढाउँछन भन्ने त्रासको मिलन मात्रै हो,’ पोखरेलले भने ।

महासचिव पोखरेलले आफ्नो कामको शैली बदल्न पनि युवाहरुलाई सुझाव दिए । आजको युवा ज्यादा सुविधाभोगी भयो कि भन्ने बुझाइमा समाज रहेको भन्दै युवा संघले साँच्चीकै बदलेर देखाउनु पर्ने बताए । यस्तै युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका उनले बताए ।

‘युवाहरु पनि सामाजिक सञ्जालका हल्का टिकाटिप्पणीबाट हामी बढी प्रभावित हुने गरेका छौं, समाजको दिशा तय गर्ने भनेको सामाजिक सञ्जालको हल्का टिप्पणीले होइन, समाजको सकारात्मक बाटो भनेको ज्ञान सिद्धान्तको सश्लेषणबाट हो, समाजको आवश्यकताबाट हो,’ पोखरेलले भने, ‘समाजलाई बदल्ने हो भने, समाज परिवर्तनको नेतृत्वकर्ताको रुपमा स्थापित हुने हो भने फरक ढंगले प्रस्तुत हुनुपर्छ ।’