
गोरखा, ९ साउन । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले नियम बिपरित यातायात सुबिधा लिने गरेको पाईएको छ ।
गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरुले पाउने सुबिधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरुले मात्रै यातायात सुबिधा लिन पाउने ब्यबस्था छ ।
तर, यस गाउँपाकिाका अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सबारी साधन प्रयोग गरेपनि प्रचलित ऐन बिपरित यातायात सुबिधा लिने गरेका हुन् ।
नियम बिपरित यातायात सुबिधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैँयाका दरले रकम बुझ्ने गरेका हुन् ।
अध्यक्षले ग १ झ ३७४ नम्बरको स्कारपिओ र उपाध्यक्षले बा २१ च ३६८६ नम्बरको बोलेर गाडी प्रयोग गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम आचार्यले बताए ।
उपाध्यक्ष गुरुङले प्रयोग गर्ने बोलेरो गाउँपालिकाले मासिक भाडामा लिएको हो । अध्यक्ष भट्टले प्रयोग गर्ने गाडी भने गाउँपालिकाले खरिद गरेको हो ।नियम बिपरित यातायात सुबिधा लिएको कुरा महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७९ ले पनि औल्याएको छ ।
‘कार्यालयमा गाडी रहेको तथा आवश्यकता अनुसार नियमित रुपमा १ गाडी भाडामा समेत लिएको अबस्थामा यातायात सुबिधा भनि रकम भुक्तानी दिनु नियम सम्मत देखिएन’, महालेखाको प्रतिवेदनमा लेखिएको छ ।
दोहोरो पर्नेगरी यातायात सुबिधा वापत गाउँपालिकाले भुक्तानी दिएको दुई लाख ८५ हजार एक सय २० रुपैँया बेरुजु देखाएको छ । अध्यक्ष भट्ट र उपाध्यक्ष गुरुङ दुबै जना स्थानीय निर्वाचन २०७९ बाट दोस्रो कार्यकालका लागि नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।















प्रतिक्रिया