शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

डा. लामिछानेको प्रश्न– प्रचण्ड तपाईलाई गद्दार किन नभन्ने?

डा. कमल लामिछाने २०७९ साउन ७ गते १२:१७

काठमाडौं, ७ साउन। प्रतिनिधि सभाबाट नागरिकता विधयेक पारित भएपछि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नियतमाथि प्रश्न उठ्न थालेका छन्।

यहि क्रममा सुकुवा विश्वविद्यालयका सह–प्राध्यापक समेत रहेका डा. कमल लामिछानेले प्रचण्डमाथि टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रश्न उठाका हुन्।

उनले लेखेका छन्–

भन्नुहोस् पुष्पकमल दाहाल प्रचण्ड, तपाईलाई गद्दार किन नभन्ने? माओवादी र एमाले एक भएर नेकपा बनेपछि राज्य व्यस्था समितिमा छलफल हुँदा वैवाहिक अंगिकृतको हकमा सात वर्षिय प्रावधान राख्न सिंगो नेकपा एक भयो। समितिको सभापतिमा अहिलेको नेकपा माओवादीकै शशी श्रेष्ठ हुनुहुन्थ्यो। अनि नेकपामा अहिलेको माओवादी थियो, एमाले थियो र एमाले फुटाएर बनेको एकिकृत समाजवादी पनि थियो।

यसो भनौं, त्यहाँ प्रचण्ड थिए, केपी ओली थिए, माधव नेपाल थिए र झलनाथ पनि थिए। यी सबै मिलेर बनेको नेकपालाई सात वर्षिय प्रावधान ठिक लाग्यो। तर तितरबितर भएपछि सात वर्षिय प्रावधान नहटाइ नहुने के त्यस्तो आइलाग्यो?  नेता उनै, सांसद उनै तर नेकपामा रहँदा ठिक र नेकपा विभाजित भएपछि बेठिक हुने अवस्थालाई कसरी बुझ्ने?

ओलीले संसद विघटन गर्दा संविधानमा मात्रै प्रहार भएको थियो। त्यसपछि बनेको सरकारले त राष्ट्रलाई नै दिर्घकालिन असर पार्नेगरी प्रहार गर्न थाल्यो त्यो पनि वीपी जयन्तीको उपलक्ष्य पारेर।

देशमा संकट पर्दा एक मुठी माटो हातमा लिएर अन्तरमनले निर्णय गर्नुपर्छ भन्ने वीपीलाई आदर्श मानेको नेपाली कांग्रेसले गजबको दिन पारेर एक मुठी माटो हातमा लिएर नागरिकताबारे गरेको निर्णयले कतै वीपीको आत्मा नभड्कियोस्।

प्रचण्ड, तपाईंलाई नेपाली जनतामा भरोसा थिएन र विगतदेखि नै दिल्लीसँग हिमचिम बढाएको छिपेको छैन। अहिले फेरि दिल्लीको कम्फरटेबल बन्न आफैं नेकपाको अध्यक्ष हुँदा आफ्नै पार्टीको शशी श्रेष्ठको सभापतित्वको समितिमा झण्डै टुंगिएको सात वर्षिय प्रावधानबाट पछि हट्दा थोरै पनि लाज लागेन?  ग्लानी भएन?

अनि ओलीले अपमान गरेको सहन नसकेर विद्रोह गरेका माधव नेपाल र झलनाथ खनाललाई सोध्न मन लाग्यो तपाईंले राष्ट्रमाथि अपमान गर्दा हामीले कोसँग विद्रोह गर्ने?

तपाईंहरूलाई घुमाइफिराई, छक्क्याइ छक्क्याइ उतैको हुनुछ र देश बुझाउन मन लागेको छ भने हाम्रो पो के लाग्यो र!

त्यसैले, आउनुहोस देश विसर्जनको आधार तयार गरेकोमा विजय मल्लले भनेझैं सिंगो नेपालको तर्फबाट आज यो ‘अन्तिम भोज’ खाऊँ, के थाहा भोली फेरि त्यो दिन आउला नआउला।

प्रतिक्रिया
सम्बन्धित