
जनकपुरधाम, २ साउन । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारत पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन जान्छु भनेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेटेको बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।
भारत भ्रमणको क्रममा प्रचण्डले अपरिपक्व व्यवहार देखाएकाले मोदीले नभेटेका पाण्डेको टिप्पणी छ ।
‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो’ उनले भने, ‘मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’
प्रचण्डले त्यस्तो बोल्नु अपरिपक्व प्रवृत्तिको उपज भएको पाण्डेले टिप्पणी गरे ।
त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छानामुनि रहनुपर्छ भन्ने सोच रहनु अपरिपक्वता भएको उल्लेख गरे ।
‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ’ उनले भने, ‘यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’
त्यस्तै, पाण्डेले माओवादीले अस्तत्व जोगाउन नसक्ने बताए । ‘माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ ।
माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ’ उनले भने, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’
उपाध्यक्ष पाण्डेले अघि भने, ‘तर हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हुन्छ ।’















प्रतिक्रिया