बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बागमतीका मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन

दैनिक नेपाल २०७९ असार १७ गते ७:५३

काठमाडौं, १७ असार । बजेट पास भएलगत्तै वागमती प्रदेशको राजनीतिक सत्ता परिवर्तनको खेल शुरू भएको छ ।

यसका लागि दलहरूले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरू बीचमा छलफल भएको छ । सत्तारुढ दलका संसदीय दलका नेताहरू, मुख्यमन्त्री पाण्डेबीच छलफल भएको हो ।

दलहरूबीच मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । संसद् नबस्ने भएपछि मुख्यमन्त्री परिवर्तनका लागि बहुमतको हस्ताक्षर आवश्यक हुने भएकाले सत्तारुढ दलका सांसदहरूले दलैपिच्छे हस्ताक्षर संकलन गरेको दुलालले बताए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफूहरूले हस्ताक्षर अभियान शुरू गरेको पुष्टि गरे । उनले भने, ‘हामीले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउनुभन्दा दुई/तीन दिनअघि हस्ताक्षर अभियान चलाएका थियौं । हाल पनि सोही प्रक्रिया अवलम्बन गरेका हौं । बजेट अधिवेशनपछि हाम्रो पार्टीको नेतृत्वमा सरकार स्थापना गर्ने पूर्वसहमतिअनुसार प्रदेश प्रमुखलाई बुझाउनका लागि हस्ताक्षर संकलन शुरू भएको हो ।’

मुख्यमन्त्री पाण्डेले सहमति कार्यान्वयन सहजरूपमा गर्नेमा कांग्रेस विश्वस्त रहेको उनले बताए, आजको नेपाल समाचारपत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित