शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काठमाडौंमा १२ जनामा हैजा : आठ जना निको भए, चार उपचाररत

दैनिक नेपाल २०७९ असार १४ गते ६:४५

काठमाडौं, १४ असार । संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।

यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन् ।

उनका अनुसार धारापानी, जार, टु्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको छ । बागबजारको खानेपानी प्रदूषित रहेकोसमेत डा. दासले सुनाए । ‘ललितपुर सानेपामा परीक्षणक्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको छ,’ उनले भने, ‘पानी कसरी प्रदूषित भयो भन्ने अध्ययनका लागि सबै ठाउँको नमूना संकलन गरिरहेका छौं ।’

हैजा सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पताललाई तयारी अवस्थामा राखिएकोसमेत डा. दासले दिएका छन् । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको हो ।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानी परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । उसले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यता, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ ।

महाशाखा निर्देशक डा. दास बल्खु र कोटेश्वरको पानीको सात नमुना लिई परीक्षण भइरहेको जानकारी दिन्छन् । महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानी परीक्षण भइरहेको आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित