शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘सरकारको भण्डाफोर गर्न सम्पर्क मञ्च अग्रसर हुनेछ’

एसपी उप्रेती २०७९ असार १३ गते २०:१०

-एसपी उप्रेती

काठमाडौँ ।  नेकपा (एमाले)लाई बलियो जनसंगठन भएको पार्टीको रुपमा लिने गरिन्छ ।

एमालेको आफैँमा निकै मजबुत संगठन विद्यमान रहेको पनि छ । जसका कारण गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनका बाबजुद पनि दोस्रो ठूलो दलको रुपमा स्थान हासिल गरेको छ । यसका पछाडी एमालेका विभिन्न संगठनहरुको भूमिका रहेको छ ।

यसै क्रममा निकै महत्वपूर्ण संगठनको रुपमा रहेको नेकपा (एमाले) सम्पर्क मञ्चले पनि पार्टीलाई निर्वाचनमा अघि बढाउन भूमिका खेल्दछ ।

जिल्ला सम्पर्क मञ्चहरुले के कस्ता भूमिका खेल्दछ ? अहिले के गरिरहेको छ आदि विषयमा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्लेसँग दैनिक नेपालको पाँच प्रश्नका लागि एसपी उप्रेतीले गरेको कुराकानी प्रस्तुत छ ।

१. अहिले नेकपा (एमाले) झापा-काठमाडौँ सम्पर्क मञ्चले के-के गरिरहेको छ ?

अहिले झापा काठमाडौ सम्पर्क मन्च आफ्नो सदस्यता विस्तार तथा सङ्गठन निर्माणमा जुटिरहेको छ । पार्टीसँग आस्थावान, हाम्रो नीतिलाइ अनुसरण गर्ने साथीहरूलाई गोलबद्द बनाउने काममा हामी जुटिरहेका छौँ ।

२. चुनावको बेलामात्रै सम्पर्क मञ्चलाई सम्झिने गरिन्छ भन्ने टिप्पणीलाई के भन्नुहुन्छ ?

तपाईंले उठाएको विषय व्यवहारिक रुपमा सत्य नै देखिन्छ । चुनावको समयमा विशेष गरि सम्पर्क मञ्चहरुलाई खोजिने गरिएको नै छ र खोज्नु पनि पर्छ ।

किनभने भूगोल पार्टीसँग समन्वय र सहकार्य गरी आ आफ्नो वार्ड, पालिका, प्रदेश, प्रतिनिधि सभाको चुनावमा नेकपा (एमाले)का उम्मेदवारहरुको विजय सुनिश्चित गराउनु हाम्रो पनि दायित्व भित्र नै पर्छ ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी हुँदै त्यो अभिभारा जिल्ला सम्पर्क मञ्चसम्म आइपुगेको हुन्छ । जिल्ला सम्पर्क मञ्चहरुले पनि आफ्ना क्षेत्रीय, पालिका सम्पर्क मञ्चहरुमार्फत पार्टीका यावत दायित्वहरुलाई पूरा गर्दै आइरहेको अवस्था छ ।

विशेष गरि सम्पर्क मञ्चका साथीहरू काठमाडौँ बस्ने र देशमा दिनहुँ भइरहेको घटना परिघटना प्रति सचेत र सु–सूचित पनि हुन्छन् । त्यसैले पार्टीका धारणा बुझ्ने , देशको अवस्था बुझ्ने कुरामा मञ्चका साथीहरू अग्रभागमा रहेको पाइन्छ ।

यही कुरा बुझेर होला पार्टीले पनि सम्पर्क मञ्चहरुलाई चुनावको समयमा अलि बढी महत्व पनि दिने गरेको जस्तो लाग्दछ । अब चुनावको बेला मात्रै मञ्चलाई खोजेको भन्ने कुरा चाहीँ त्यति सत्य नहोला । पार्टीले अरु बेला पनि मञ्चलाई खोजेको छ ।

३. भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सम्पर्क मञ्चलाई उपेक्षा गरिएको आलोचना आयो, जित्ने भइसकेपछि चाँही संगठन नचाहिने भएर हो ? कि सम्पर्क मञ्चमा विकृति आएको हो ?

तपाईंले भन्नुभएको कुरा आंशिक सत्य हो र आंशिक झुट हो भन्छु म । आंशिक सत्य चाहीँ यो कुरामा भन्छु कि कति जिल्लाहरुमा सम्पर्क मञ्चहरुलाई भुगोल पार्टीका साथीहरुले, नेता कमरेडहरुले त्यति महत्व दिइएको पाइएको छैन । तर के कुरा चाहीँ सत्य हो भने कुनै पनि ठाउँमा आफ्नो महत्व आफैँले सिर्जाना गर्ने हो ।

हाम्रो जस्तो ठूलो पार्टीमा सबै जनाले आआफ्नो ठाउँमा पार्टी काम गरिएकै हुन्छ, त्यो कुरालाई भुगोलका कमरेडहरुले पनि अलि बुझिदिनु भयो भने तपाईंले भने जस्तो मञ्चहरुलाई उपेक्षा गर्ने अवस्था हुने थिएन ।

अब आंशिक किन झुठ भनेको भने सम्पर्क मञ्चहरुले भुगोल कमिटीसँग समन्वय र सहकार्य गरेर राम्रो रिजल्ट दिन सक्नुभएको छ । भूगोल कमिटीका साथीहरुले सम्पर्क मञ्चका साथीहरुलाई राम्रोसँग बुझ्नुभएको छ र

सोहीअनुसार पार्टी गतिविधिमा सामेल गराउँदै आउनुभएको छ । विशेष त यो स्थानीय तहको चुनावमा कति ठाउँमा थोरै मतान्तरले हार जित भएको छ ।

सम्पर्क मन्चका साथीहरुले काठमाडौँबाट लिएर जानुभएका मतदाता नै कति वार्ड, कति पालिकामा विजय हुन निर्णायक हुनुभएको छ । त्यसैले सम्पर्क मञ्चहरुलाई पार्टीले उपेक्षा गर्ने कुरा कहीँ छ भने पनि त्यो गलत छ ।

कति जिल्लामा चाहीँ आफ्नो मान्छेले टिकट नपाएको रिसमा मञ्चका साथीहरूले पनि फटाइ गरे भन्ने पनि कुरा आएको छ । त्यस्तो हो भने पार्टीले छानबिन गरी दोषीलाई कडा कारवाही गरिनु पर्दछ ।

४. झापा काठमाडौँ सम्पर्क मञ्चको आगामी संसदीय निर्वाचन लक्षित योजनाहरु के के रहेका छन् ? ति योजनाले पार्टीलाई जिताउन कस्तो भूमिका खेल्छ ?

झापा काठमाडौँ सम्पर्क मन्च, अस्ति वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारहरुलाई जिताउन पनि खटिएको थियो । अब पनि प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीका उम्मेदवारहरुलाई जिताउन खट्ने छ । त्यसको लागि अहिलेदेखि नै हामी योजना बनाउन लागेका छौँ ।

झापाका ५ वटै प्रतिनिधि सभाको क्षेत्र र १० वटा प्रदेश सभा क्षेत्रमा हाम्रो उम्मेदवारहरुलाई जिताउन झापा जिल्ला लाल किल्ला बनाउन हामी लागेका छौँ । हाम्रो पार्टी सरकारमा हुँदा गरेका कामहरु तल जनतासम्म पुर्याउन सकिएको रहेनछ भन्ने कुरा हामीले महसुस गरेका छौँ । त्यसलाइ घर घरमा पुर्‍याउनु आहिलेको आवश्यकता हो ।

त्यो काम भूगोल कमिटीसँगको सहकार्यमा गरिनेछ । गठबन्धनको नाममा अहिले सरकारमा हुने दलहरुले लुटतन्त्र मच्चाइरहेका छन् । महङ्गीले गर्दा जनताको चुल्हो बल्न मुस्किल भइसक्यो । सरकार कानमा तेल हालेर बसिरहेको छ । व्यापार व्यवसाय ठप्प प्राय छ, बैंकमा पैसा छैन, ७/८% मा लिएको ऋणको ब्याज बढेर १५/१७ पुगिसक्यो । शेयर बजार ध्वस्त छ ।

अर्थमन्त्री बिचौलियालाई देशको बजेट बनाउन दिन्छन् । करको दर निर्धारण गराउन लगाउँछन् । देशको प्रम आफ्नो कुर्सी कसरी जोगिन्छ भनेर मात्रै बस्छन् । हो यी यावत कुराको भन्डाफोर गर्ने अभियानमा सम्पर्क मन्च अग्रसर हुनेछ ।

५. बाम एकता जरुरी छ कि छैन ? किन ?

बाम एकता हामिले गरेकै हो । बाम एकता भएको राम्रो । तर कसलाई बाम भन्ने ? आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको सरकार बनाइदिने नाम मात्रैका बामलाई कसरी बाम भन्ने ? पूँजीवादलाई पक्षपोषण गर्ने कांग्रेसको पिछ्लग्गुलाइ कसरी बाम भन्ने ? खान पाए कुनै सिद्धान्त नचाहिनेसँग एकता गर्नु घातक हुन्छ ।

नेकपा (एमाले) आफ्नो खुट्टामा उभिने पार्टी हो । यसलाई कसैको वैशाखीको आवश्यकता छैन । सिद्धान्तहीनसँग हिमचिम बढाउनु भन्दा आफ्नो संगठनलाई अझ सुसंगठित गरेर एक्लै चुनावमा जानुपर्छ भन्ने लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित