शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

घेराबन्दीमा माधव नेपाल, कति सहन सक्लान ?

दैनिक नेपाल २०७९ असार १२ गते ६:४१

काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन् ।

पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उनी परेका हुन् । नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा १० सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष दाहालले तत्कालै मन्त्रिपरिषद् हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चर्को दबाबमा परेको नेताहरूले बताएका छन् ।

पोलिटब्युरोको शुक्रबार सम्पन्न बैठकमा अध्यक्ष नेपालले आफ्नै साथीहरू, पार्टीबाहिरका केही साथी तथा सत्ता गठबन्धनकै सहयात्री दलहरूको असहयोगका कारण मन्त्री हेरफेर हुन नसकेको बताएका थिए । ‘विद्रोहबाट आएका कारण सबै साथीको मर्ममा ठेस पुग्नुहुन्न भन्ने पार्टीको चाहना छ तर सरकारमा रहेका केही साथीले आन्तरिक र बाह्य शक्तिलाई बढी नै दुरुपयोग गर्नुभयो । यो राम्रो कुरा भएन,’ अध्यक्ष नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता गर्न नसक्दा अध्यक्ष नेपाल नैतिक संकटमा परेका छन् । ओली सरकारलाई हटाउनदेखि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दै पाँच दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अध्यक्ष नेपाल आफ्नै पार्टीले सरकारमा पठाएका मन्त्री र गठबन्धनको सहयात्री दल माओवादी केन्द्रका कारण नैतिक संकटमा परेका हुन् ।

नेकपा एसका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा माओवादीले आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाउन दबाब झेल्नुपर्ने आकलन गरेपछि एकप्रकारको अवरोध सिर्जना गरेको नेकपा एसका नेताहरूको बुझाइ छ । सोही कारणले नेकपा एसको निर्णय कार्यान्वयन अवरुद्ध बन्न पुगेको विश्लेषण गरिएको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित