
काठमाडौं, ११ असार । दैनिक ज्याला गरेर घरखर्च चलाइरहेका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् ।
उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च कसरी धान्ने चिन्तामा छन् उनी ।
‘पहिले त जेनतेन घरखर्च चलाइएको थियो । अहिले त महँगी बढेर सामान छोइसाध्य छैन,’ उनले दुखेसो सुनाए, ‘कमाई बढेको छैन । खर्च भने ह्वात्तै बढेको छ ।’ महँगीका कारण खर्च बढेपछि परिवार पाल्न मुस्किल भएको उनको दुखेसो छ । ‘महँगी बढेपछि दाल–चामल किन्न, बच्चाको स्कुल फिस तिर्न, कोठा भाडा तिर्न धौ–धौ भइरहेको छ,’ उनले भने, ‘तर, हाम्रो समस्या कसले बुझ्ने ?’
उनले भनेजस्तै पछिल्लो समय तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पछिल्लो महीना तरकारीको मूल्य बढेको बताएको छ । समितिका अनुसार पछिल्लो महीना आलुको मूल्य प्रतिकिलो १० रूपैयाँ बढेर ३५ रूपैयाँ पुगेको छ । गत महीना आलुको मूल्य किलोको २५ रूपैयाँ थियो । यस्तै, काउलीको मूल्य प्रतिकिलो ३० रूपैयाँ बढेर ८० रूपैयाँ कायम भएको छ । गत महीना काउली प्रतिकिलो ५० रूपैयाँमा किनबेच भएको थियो ।
समितिको तथ्यांक अनुसार घिउसिमी, बन्दा, प्याज आदिको मूल्य १० देखि २५ प्रतिशतले बढेको छ । अहिले घिउसिमी किलोको ८० रूपैयाँ, बन्दा ९० रूपैयाँ, गाँजर १०० रूपैयाँ किलोमा बिक्री भइरहेको समितिले जनाएको छ , आजको आर्थिक अभियान दैनिकमा प्रतिक्षा कँडेलले समाचार लेखेकी छिन् ।













प्रतिक्रिया