
काठमाडौं, ६ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आइतबार बसेको समिति बैठकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी विषयमा छलफल गरेको थियो । उक्त छलफलका लागि समितिले प्रधानमन्त्री देउवालाई पनि बोलाएको थियो । प्रधानमन्त्री देउवा भने समिति बैठकमा गएनन् ।
आइतबार बिहान ८ बजे देउवाको सचिवालयले प्रधानमन्त्रीको समय नभएकाले आउन नसक्ने जानकारी समितिलाई दिएको थियो । पछिल्लो समय राजनीतिक वृत्तमा तरंग ल्याएको एसपीपीबारे छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का समिति सदस्यले आलोचना गरेका थिए ।
एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए । अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरे । कांग्रेस सांसदले भने समिति बैठकमा प्रधानमन्त्री नआउनु सामान्य कुरा भएको भन्दै यसबारे कुनै निर्णय गर्नु नपर्ने तर्क गरे ।
सुरूमा समितिले प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकूल भएको व्यहोरासहितको निर्णय गर्न लागेको थियो । त्यसपछि समितिमा सांसदबीच एक घण्टाभन्दा बढी चर्काचर्की र वादविवाद गरेपछि समिति सभापति पवित्रा निरौलाले होहल्लाबीच प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय सुनाइन् । उनले निर्णय सुनाएसँगै समितिको बैठक सकियो ।
समितिले एसपीपीबारे यसअघि गत शुक्रबार परराष्ट्र नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको थियो, आजको राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन् ।













प्रतिक्रिया