
काठमाडौँ, २ असार । नेकपा (एमाले)का सांसद एवं पूर्वउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो कार्यकालमा एसपीपी सम्झौता नभएको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधि सभाका बैठकमा बोल्दै उनले कुनै सम्झौता केपी ओलीको नेतृत्वको सरकारले नगरेको स्पष्ट पारेका छन् ।
उनले त्यसबेला एसपीपी सम्झौता भएको भए त्यसको पत्र, माइन्युट प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्न चुनौती दिएका छन् ।
उनले सत्तापक्षले स्टेट पार्टनरसिपको विषयलाई गलत ढंगले सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरे । तथ्य विपरित, पूर्वाग्रहपूर्ण, आफुले गरेका अपराधहरूलाई ढाक्न गठबन्धन सरकारले दुश्प्रचार गरेको उनको दावी छ ।
उनले एसपीपी प्रस्ताव अमेरिकीहरुबाट आएको बेलामा सन् २०१५ र २०१७ मा औपचारिक ढंगले सकरात्मक रुपमा नेपालबाट जवाफ पठाइएको बताए । उनले सन् २०१५ मा कसको नेतृत्वमा सरकार थियो भन्दै प्रश्न गर्दै भने, ‘त्योबेला प्रधानमन्त्री को थियो ? रक्षामन्त्री को थियो ? सन् २०१७ मा को प्रधानमन्त्री र रक्षामन्त्री थियो ? त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ? गठबन्धनलाई नेतृत्व गर्ने नेताहरुले आज झुट बोलिरहनुभएको छ । उल्टो एमालेप्रति आक्षेप लगाउने काम गरिरहनुभएको छ ।’
उनले थपे, ‘सन् २०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, सम्भवत त्यही बेला उहाँ रक्षामन्त्री पनि हुनुहुन्थ्यो । सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । रक्षा मन्त्रालय कसले चलाएको थियो शेरबहादुरजीले राम्रोसँग बुझ्नुहुन्छ । त्यसबेला सकारात्मक ढंगले जवाफ पठाउनेहरू यसबेला गलत कुरा बोलिरहनुभएको छ । एमालेप्रति आक्षेप लगाइरहनुभएको छ ।’
पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रतिको खण्डन गर्दै हिम्मत भए प्रमाण पेश गर्न चुनौती दिएका छन् । पोखरेलले भने, ‘त्यतिबेला म रक्षामन्त्री थिएँ । म दावाका साथ भन्न चाहन्छु त्यसबेला यसबारेका कुनै सम्झौताहरु, लिखतहरु, माइन्युटहरु छन् भने यो संसद समक्ष प्रस्तुत गरियोस्, त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौँ । ’
एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले एसपीपी सम्झौतालाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने कुरा आएपछि त्यसबेला गम्भीर रुपमा लिएको, असंलग्न परराष्ट्रनीति, कुनैपनि सैन्य गठबन्धनमा संलग्न नहुने हिजो देखिको नीति विरुद्ध र त्यसलाई कमजोर पार्नेगरी आएको बताए ।
उनले विभिन्न देशको समन्वयबाट नेपाली सेनालाई थप सबल बनाउन भने तालिम दिने कुरा भनेको कुनै सैनिक गतिविधिमा रहने विषय नहुने बताए ।
भिडियो:















प्रतिक्रिया