
काठमाडौँ, १ असार । काठमाडौँको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि ४ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।
कलेजका सुरक्षा गार्डमाथि मंगलबार दिउँसो साढे १ बजेतिर केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो ।
प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जिव भण्डारी (अनमोल)लाई नियन्त्रणमा लिएको छ ।
करिब १० दिन अघि कलेजमा बास्केटबल खेल्दा दुई समूहबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो ।















प्रतिक्रिया