
काठमाडौँ, १ असार । काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा गएराति भारी वर्षा भएको छ ।
काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले गएराति साढे १ बजे सूचना जारी गरेको थियो । जसमा पछिल्लो चार घण्टा काठमाडौं उपत्यका, काभे्रपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा र आसपास भारी वर्षा मापन भएको जनाउँदै सतर्क रहन आग्रह गरिएको छ ।
त्यसैगरी, बागमतीका सहायक नदीहरू मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा बहाव बढेको भन्दै तटीय क्षेत्रमा अर्को चार घण्टा उच्च सतर्कता अपनाउन विभागको सूचनामा उल्लेख गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको भोर्लेनी स्टेसनमा पनि भारी वर्षा मापन भएको छ । त्यहाँको वर्षा खतराको तहसम्म पुगेको बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।















प्रतिक्रिया