
काठमाडौँ, ३१ जेठ । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा भएको गठबन्धनमा ७ प्रकारको समस्या देखिएको औंल्याएका हुन् ।
उनका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो ।
उनले गठबन्धनलाई आफ्नो हितमा प्रयोग गर्न चाहने प्रवृत्ति देखिएको र यो प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रम बढी देखिएको पनि उल्लेख गरेका छन् ।
उनले चुनावका क्रममा पार्टिभित्र पनि ७ प्रकारको समस्या देखिएको उल्लेख गरेका छन् । नेता नेपालका अनुसार गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि उम्मेदवारी दिनै तयार नहुने प्रवृत्ति पार्टीभित्र देखिएको थियो ।
त्यस्तै चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यममात्र ठान्ने, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुशी फिर्ता लिने, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी छाडेर हिँड्ने समस्या पनि देखिएको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।















प्रतिक्रिया