३ कार्तिक २०८३, मंगलबार

नेपालमा पहिलोपटक सरसफाइ सम्बन्धी प्रमाणित शिक्षाको सुरुवात

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, ३१ जेठ । नेपालमा पहिलोपटक सरसफाई सम्बन्धी शिक्षा (तालिम) प्रदान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सफाइ कर्मचारीहरुलाई गेट हस्पीटालिटीले दुई हप्ते शिक्षा प्रदान गरेको हो ।

विमानस्थलका करिब ८० जना सरसफाइ कर्मचारीहरुलाई अत्याधुनिक सामग्रीहरुसहित सफाइका लागि सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिएको हो ।

अष्ट्रेलियामा सरसफाईलाई व्यवसायका रुपमा सञ्चालन गरिरहेको खेम शर्माले नेपालमा सेवाको भावनाले विमानस्थलका कर्मचारीहरुलाई सफाइ सम्बन्धी तालिम दिएका हुन् । उनकै अगुवाइमा २०१७ मा पनि अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर ख्याति कमाएका थिए ।

उनै शर्मा मूल प्रशिक्षकका रुपमा रहेर विमानस्थलका सफाई कर्मचारीहरुलाई प्रशिक्षण दिइएको हो । त्यस्तै, गेट हस्पिटालिटीका खेम लकाई, मनऋषि धिताल, प्रज्वल खनाल तथा विष्णु धिताललगायतले प्रशिक्षण दिएका थिए । दुई हप्ताको प्रशिक्षणपछि मंगलबार तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

आज विहान विमानस्थलमा आयोजित एक कार्यक्रममा पहिलो चरणमा सफाइ सम्बन्धी प्रशिक्षणबाट दीक्षित भएका सफाई कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफाई कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खमे शर्माले सफाइ सम्बन्धी विषयमा आफूलाई कुरा गरेपछि तुरुन्तै काम गरौँ भनेर आग्रह गरेको बताए ।

उनले शर्माको अष्ट्रेलिया जाने योजनालाई थाती राख्न लगाएर यो सफाइ तालिम सञ्चालनका लागि अपील गरेको बताए । आफ्नो आग्रहलाई मानेर यो ऐतिहासिक काम गरेकामा मन्त्री आलेले शर्मालाई विशेष आभार व्यक्त गरे । त्यस्तै, उनले सचिवहरुलाई मात्रै नभएर अबदेखि विमानस्थलले राम्रो काम गर्ने सफाई कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कारको व्यवस्था गर्न आग्रह गरेका छन् ।

मन्त्री आलेले विदेशी पर्यटक नेपाल आउँदा विमानस्थलको ट्वाइलेट पुगेपछि नाक थुन्ने अवस्था आउन नदिन सफाइ कर्मचारीले भूमिका खेल्नुपर्ने बताए । यसभन्दा अघि त्यस्तो अवस्था रहेको र अब त्यस्तो हुन नदिन कर्मचारीहरुको ध्यान जानुपर्ने मन्त्री आलेको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले मन्त्री आलेको विशेष पहल तथा खेम शर्माको अगुवाइमा भएको यो सफाइसम्बन्धी प्रशिक्षणले आगामी दिनमा विमानस्थललाई सफा बनाउनेमा आफू विश्वस्त भएको बताए । त्यस्तै, उनले अब आवश्यक सफाइ सामग्री उच्च गुणस्तरको ल्याउने पनि प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आगामी साउन १ देखि विमानस्थल आफैँले सरसफाइको जिम्मा लिने घोषणा गरे । आफ्ना कर्मचारीहरुले तालिम पाएका विमानस्थलले आवश्यक सामग्री खरिद गर्ने भन्दै ठाकुरले अब ठेका नदिने स्पष्ट पारे । अबदेखि राम्रो काम गर्ने सरसफाइ कर्मचारीहरुलाई पनि पुरस्कार एवम् सम्मानको व्यवस्था गर्ने घोषणा समेत गरे ।

सरसफाइ कर्मचारीलाई मूख्य प्रशिक्षणका रुपमा सहजिकरण गरेका शर्माले अब नेपालमा पनि सरसफाइको काम गर्नका लागि आधिकारिक शिक्षाको प्रमाणपत्र लिनुपर्ने व्यवस्थाको सुरु भएको बताए ।

गर्दा जे पनि हुने भन्दै उनले सफाइ कर्मचारीहरुलाई आफ्ना कामका लागि प्रतिवद्धता पनि गराएका थिए । उनले कर्मचारीहरुले १५ दिन सिकेका कुराहरुको व्यवहारिक पाटो आगामी असार मसान्तमा थाहा हुने भन्दै आफ्नो काममा जिम्मेवार हुन आग्रह गरे । उनले पहिले कर्मचारीहरुलाई बोल्न गाह्रो भएको स्मरण गर्दै आफूले ठीक ढंगले काम गरेपछि मात्रै बोल्न सकिने बताउँदै अब सफाइ कर्मचारीहरुले सजिलै आफूले गरेको कुरा राख्न सक्ने बताए ।

आफूहरुले साउन १ देखि मात्रै प्रशिक्षण दिने योजना गरिएकोमा मन्त्री आलेले तुरुन्तै गरौँ भन्ने आग्रहलाई स्वीकारेर काम गरिएको शर्माको भनाइ छ ।

विमानस्थलका १५२ जना सफाइ कर्मचारीमध्ये दोस्रो चरणको तालिम आगामी बिहीबारदेखि हुँदैछ ।

कार्यक्रममा मन्त्री आलेसहित नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक, विमानस्थलका उच्च अधिकृत, सफाइ प्रशिक्षकहरु, सफाइ कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।