
काठमाडौँ, ३० जेठ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ (जुन १८, २०२२) मा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौँ उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफ्नै जग्गा खरिद गर्ने सम्मका योजनाहरु रहेका छन् । जसको पहिलो पाइलाको रुपमा यो फण्ड रेजर ईभेन्ट आयोजना गर्न लागिएको हो ।
आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले व्यवसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ ।
दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने विभिन्न नेपाली ब्राण्डका वियर, वियर ककटेल, मकटेल लगायतका पेय रहनेछन् । बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाइभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् ।
“जुन वियर कार्निभल”को नाममा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर रु. १०००/– तोकिएको छ जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराइनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् ।
यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दिहोटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।
राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शीर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । खासगरी सामुदायिक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४० भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ ।
हालै बाग्मती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा २ वटा कक्षा कोठा तथा कम्प्यूटर ल्याबको निर्माण गरि हालै विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । जसको उद्घाटन राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले गरेका थिए ।
किन बच्चाको शिक्षाका लागि किन वियर फेष्टिभल?
आजका यूवालाई बालबालिकासँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा युवालाई चेतनशिल बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा युवाको रोजाईमा पर्ने विषयसँग जोड्ने प्रयत्न गरिएको राउण्ड टेबलले जनाएको छ ।
के हो राउण्ड टेबल नेपाल ?
सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि. के. गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । युवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैब तत्पर रहँदै आएको छ ।
३६ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आफ्नो फ्रिडम थ्रु एजुकेशनकै एक्सटेन्सन हो ।















प्रतिक्रिया