
काठमाडौँ, ३० जेठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनबारे गम्भीर समीक्षा हुने जनाएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा जनमत तलमाथि नभए पनि गठबन्धन, सत्ताको दुरुपयोग र कतिपय ठाउँमा आन्तरिक कमजोरीका कारण सिटमा केही क्षति भएको भन्दै यसको समीक्षा हुने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकप्रिय मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको बताए ।
उनले कतिपय ठाउँमा उम्मेदवारी चयनमा ढिलाइ तथा आकांक्षीहरुबीच असमझदारीका कारण पनि आन्तरिक कारण पराजय भोग्नुपरेको समीक्षा भएको जानकारी दिए । उनले अन्तर्घातको सन्दर्भमा वडादेखि सम्बन्धित कमिटीमै देशभर समीक्षा हुने बताए ।
ज्ञवालीले भने, ‘समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात, कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ ।’
बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने, पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष पनि निकालेको छ ।















प्रतिक्रिया