बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘श्रीमान्‍को हत्या कसरी गर्ने ?’ भन्ने किताबकी लेखिका अहिले श्रीमानको हत्यामा दोषी ठहर

दैनिक नेपाल २०७९ जेठ १५ गते ७:५०

‘तपाईको श्रीमान्‍को हत्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदालतले उनको श्रीमानको हत्याको लागि दोषी ठहर गरेको छ । सजाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रियाविहिन रुपमा मौन बसेकी थिइन् ।

वादी पक्षका वकिलले न्यान्सी ब्रोफीले उनको श्रीमानको हत्या गर्न महिनौँदेखि तयारी गरिरहेको आरोप लगाएका थिए। वकिलले ब्रोफीले सन् २०१८ जुन २ मा भएको उनको श्रीमान् ड्यानियल ब्रोफीको हत्याको केही महिनाअघि बन्दुकको पार्टपुर्जा किनेको प्रमाण पेस गरेका थिए।

न्यान्सीले हत्याका गोली उनकै बन्दुकबाट हानिएको नचिनाउने विशेष पार्टपुर्जा पनि किनेको वकिलहरूले दाबी गरे । ​ब्रोफीले भने हतियारको पार्टपुर्जा उनको नयाँ उपन्यासको लेखन अनुसन्धानको लागि किनेको बताएकी छन् । साथै ती हतियारका पार्टपुर्जाको खरिदबारे उनको श्रीमान् जानकार रहेको उनले स्पष्टीकरण दिएकी थिइन् ।

र ब्रोफीको श्रीमान् कुनै क्यामेरा अथवा साक्षी नभएको स्थानमा मारिनु, हत्याको केही दिनपछि जीवन बीमाबाट ठूलो रकम सङ्कलन गरिनुलाई पनि ब्रोफी हत्यारा हुनुको प्रमाणको रुपमा पेस गरेका थिए।

हत्याको केही दिनपछि नै ब्रोफीले लाखौं डलर बीमा रकम सङ्कलन गरेकी थिइन्। सो रकम सङ्कलन गर्नको लागि उनले प्रहरीबाट ‘आफू हत्याको लागि शङ्काको घेरामा नरहेको’ पत्र बनाएकी थिइन्।

तर यो आरोपबारे स्पष्टीकरण दिने क्रममा उनले श्रीमान् वा श्रीमतीको मृत्युपछि बीमा रकम सङ्कलन गर्ने आम प्रचलन रहेको जवाफ दिएकी थिइन् । ‘उनले पहिलेदेखि नै योजना बनाएर हत्या गरेको देखिन्छ। हत्या गर्दा फाइदा हुने व्यक्ति उनी मात्र देखिन्छन्,’ सहायक जिल्ला अधिवक्ता शन ओभरस्ट्रिटले भने ।

ब्रोफीलाई योजनावद्ध हत्याको लागि दोषी ठहर्‍याइएको छ, जसमा जन्म कैद सजाय हुन्छ । अदालतले हाल उनलाई दोषी घोषित गरेको छ भने उनको सजायँ भने जुन १३ मा तोकिनेछ ।

रोमान्टिक उपन्यासकी लेखिका ब्रोफीले सन् २०११ मा एक ब्लग पोष्टमा ‘श्रीमानको हत्यापछि श्रीमतीलाई सबैभन्दा बढी शङ्का गरिने भएकाले उनीहरू ‘निक्कै चलाख’ हुनुपर्छ’ भनेर लेखेकी थिइन् ।

उक्त ब्लग पोष्टमा उनले हत्याका विभिन्न तरिकाबारे विचारविमर्श गरेकी छन्। जस्तो चक्कुले मार्दा धेरै रगत बग्ने, विषको प्रयोग महिलाहरूको आम हतियार भएकाले स्वतः शङ्का हुने अवस्था आउने र पेशेवर हत्यारा त्यति विश्वसनीय नहुने लेखेकी छन्।

अदालती सुनुवाइमा भने वकिलहरूलाई ब्रोफीको ‘हाउ टु मर्डर योर हसबेण्ड’ निबन्धको चर्चा गर्न बन्देज लगाइएको थियो । तिनले विभिन्न तथ्यका आधारमा ब्रोफी आर्थिक समस्यासँग जुधिरहेकाले बीमा रकम हात पार्न श्रीमानको हत्या गरेको दाबी गरे ।

अनुसन्धानदाताले सिसिटीभी फुटेजमा हत्याको समयतिर ब्रोफी उनको पुरानो मिनिभ्यानमा हत्या भएको स्थान नजिक देखेपछि उनीविरुद्ध मुद्दा बलियो बनेको थियो । ब्रोफीले उनको उपस्थिति संयोग मात्र भएको तर्क गरेकी छन् ।

द न्यूयोर्क टाइम्सबाट

प्रतिक्रिया
सम्बन्धित