६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगरमा रेणु दाहालको विजयमा एमालेको मत, कांग्रेसको घात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० जेठ। भरतपुर महानगरपालिका मेयरमा निर्वाचित रेणु दाहाललाई गठबन्धनबाट राम्रो साथ नभए पनि जितमा एमालेका वडामा पाएको मत निर्णायक बनेको विश्लेषण गरिएको छ।

एमालेको प्रभाव रहेको र अघिल्लो निर्वाचनमा मेयरका उम्मेदवार देवी ज्ञवालीले राम्रो मत ल्याएका वडामा मेयरमा दाहाललाई बढी मत खसेको थियो। त्यति मात्र नभएर मेयरका उम्मेदवार एमालेका विजय सुवेदीको वडामा पनि रेणुले राम्रो मत पाएकी थिइन्।

कम्तिमा पनि ७ हजार भन्दा बढी एमालेको मत रेणुले पाएको आँकलन गरिएको छ।

एमालेको प्रभाव रहेको १०, ११ र १२ वडामा एमालेले मतान्तर घटाउने लक्ष्य राखेको थियो। तर, त्यहाँ पनि रेणुलाई नै मत खसेपछि एमालेले मेयर जित्न नसक्ने आँकलन गरिएको थियो। एमालेका वडाध्यक्षले प्राप्त गरेको मत नै विजयले प्राप्त गरेनन्।

वडा नम्बर–१० एमालेका संघीय सांसद कृष्णभक्त पोखरेलको घर भएको क्षेत्र हो। वडा–११ एमालेको सबैभन्दा बलियो क्षेत्र मानिएको थियो। जहाँ वडाध्यक्ष एमालेले नै जित्यो। साढे नौ हजार मत खसेको उक्त वडामा पनि रेणुलाई राम्रो सहयोग भएको थियो।

एमाले निरशा हुने अर्को वडा–१२ थियो। उक्त वडा विजय सुवेदीको गृहवडा हो।

वडा–१० र ११ मा एमाले वडाध्यक्ष उमेदवारलाई भन्दा मेयर उमेदवार सुवेदीलाई कम भोट प्राप्त भयो । अरू वडाहरूमा पनि मेयरमा रेणुलाई मत दिनेहरूले अन्य सबैजसो पदमा एमालेको सूर्य चिह्नमा मतदान गरेको पाइयो।

स्थानीय एमाले नेता भन्छन्,‘अन्य पदमा एमालेले जित्ने र मेयरमा रेणुलाई धेरै मत जानुमा अन्तरघात भएको पुष्टि हुन्छ।’

०७४ सालमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत ल्याएका वडामा विजय निराश हुन परेको थियो। प्रायः सवै वडामा एमालेका वडाध्यक्षले पाएको मत विजयका लागि खसेको भए उनको जितको सम्भावना आँकलन गरिएको छ।

अर्को पक्ष के छ भने मेयरमा पौडेललाई भोट दिनेहरूले उपमेयरदेखि वडासम्म सबै कांग्रेस चुनाव चिह्नमा मत हालेका कारण रेणुलाई गठबन्धनबाट धोका भएको विश्लेषण गरिएको छ। रेणुको जितमा एमालेका मतदाताको नै हात रहेको चर्चा भरतपुरमा हुन थालेको छ।