
काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छिन् ।
डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन् । उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समयसीमा तोकिन नहुनेमा जोड दिएकी छिन् ।
एक किशोरीले आफू बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला डा. राणाले यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।
संविधानसभा सदस्य डा. राणाले नेपालमा बलात्कार भएको एक वर्षभित्रै कानुनी उपचार खोज्नुपर्ने प्रावधान भएकाले त्यसलाई संशोधन गर्न माग गरिन् । बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने बताउँदै उनले न्यायको लडाइँ शुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने उल्लेख गरेकी छन् ।
‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समयसीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्,’ उनले भनेकी छन्, ‘अपराध सबै अपराधी नै हुन्, कुनै अपराधमा २०औं बर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समयसीमा किन ?’
कांग्रेस नेतृ देउवाले महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाई गर्न नहुनेतर्फ संसदको ध्यानाकर्षण गराएकी छन् । उनले सरकारलाई कानुन संशोधनको प्रक्रिया छिटो अगाडि बढाउन र संसदलाई फाष्ट ट्रयाकबाट पारित आग्रह गरेकी छन् ।
‘हालै एक जना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फाष्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।















प्रतिक्रिया