
काठमाडौँ, ५ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ ।
‘हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा एमालेले करिब–करिब ४८ सालको निर्वाचनदेखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै समीक्षा गरिने बताए । उनले संवेदनशील विधेयक टुंगो लगाउनुपर्ने विषयमा एमालेले सहयोग गर्ने बताए ।
‘सरकारले विधेयक ल्यायो भने पास हाम्रो सहयोग चाहेमा हामीसँग परामर्श हुनुपर्यो । मुख्यमुख्य र संवेदनशील खालका विधेयकहरु छिटो टुंगो हुन भन्ने चाहान्छौँ । त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ’ उनले भने ।















प्रतिक्रिया