७ कार्तिक २०८३, शनिबार

यसपालि भरतपुरको मतगणनास्थलमा यस्तो छ कडाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । शुक्रबार देशभर स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेको छ ।

त्यसपछि सबैको ध्यान मतगणनामा हुनेछ ।

निर्वाचन आयोगले मतगणनाको संवेदनशीलतालाई ध्यानमा राखेर कडाइ गरेको छ ।

गत २०७४ को निर्वाचनमा विशेषगरी चितवनको भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन अनियमितता भएको, मतपत्र च्यातिएको र धाँधली गरेर जीत निकालिएको आरोप खेपेको आयोगले यसपालि भने कडाइका साथ तयारी गरेको जनाएको छ ।

आयोगले यसअघि नै मतपत्र च्यात्न र चपाउन नमिल्ने बनाएको जनाएको छ ।

त्यस्तै, तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको छ ।

आयोगले यसपािल करिब ५० प्रतिशत मतगणना गरिने स्थानमा सीसीटिभी जडान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

यस्तो छ भरतपुरको तयारी

२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको भरतपुरमा यसपालि उस्तै कथा दोहोरिन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

भरतपुर मतगणनास्थल

मतगणनास्थलमा विभिन्न सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए ।

निकै पेचिलो बनेको भरतपुर महानगरपालिकाको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित भएको छ ।

मतगणना सुरक्षित र व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि सिसिटिभी क्यामेरा र तारजाली लगायतका मजबुत व्यवस्था हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

“निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको छ। अनि अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटर चल्नेछ। पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्,“ उनले भने ।

सुरक्षा पनि कडा

२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्।

यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।

भरतपुर मतगणनास्थल

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन् ।

तामाङले भने, “विगतको घटनाबारे समीक्षा गरेर त्यसैअनुरूप सुरक्षा व्यवस्था पुनरावलोकन गरिएको छ ।“

“त्यतिखेर भएका त्रुटि केलाइएको छ। यिनै विषयका आधारमा निर्वाचन आयोगले निर्दिष्ट गरेका सबै उपाय अवलम्बन गरिएका छन् ।“

“सुरक्षाका हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ ।“

भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ । बीबीसीको सहयोगमा