७ कार्तिक २०८३, शनिबार

मतदानका लागि तीन दिन हिँड्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २९ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो ।

“मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छौँ , भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।”

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो ।

त्यहाँ १०० भन्दा बढी मतदाता छन् । विसं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ ।

नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । विसं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

विसं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

चुनावको तयारी अन्तिम चरणमा

शुक्रबार हुन लागेको स्थानीय तह चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले बुधबार सर्वदलीय बैठक गर्नाका साथै मतदानस्थल निर्माण गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिनुभयो ।

“जिल्लाभरको मतदानस्थलमा चुनावको तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “आजसम्म मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र ९बुथ० बनाउने योजना छ ।” मतदानस्थलमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ मतदाता थपिएका छन् । थपिएका र मतदानस्थल परिवर्तन गरेका मतदाताका लागि नयाँ परिचयपत्र वितरण गर्न थालिएको छ ।

विसं २०७४ को स्थानीय तहको चुनावमा ७१ हजार ४६३ मतदाता रहेकामा अहिले जिल्लामा कूल मतदाताको सङ्ख्या ८५ हजार ३७५ पुगेको छ । तीमध्ये एकचालीस हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् ।

सचतालिस मतदानस्थलका ११४ मतदान केन्द्रमा मङ्गलबार नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै ६१ किसिमका सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । एकसय चौध मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा ६१८ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो । मतदान र मतदानअघि तथा मतगणनासम्मका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।–रासस