बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गठबन्धन सरकारमा अनेक पराकम्पन

दैनिक नेपाल २०७९ वैशाख २८ गते ९:०३

काठमाडौं, २८ वैशाख। सत्ता गठबन्धन सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा प्रथम महिला आरजु राणाले हुकुमी शासनलाई ग्राहयता दिन थालेकी छन्।

चुनाव प्रचारका क्रममा दुई विवादास्पद अभिव्यक्तिका कारण निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधिसकेकी ‘भाउजू’ राणाको नागरिक वृत्तमा पनि आलोचना भएको थियो।

उनले डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले नजितेका ठाउँमा केन्द्रीय बजेट नपठाउने तथा कैलालीमा पुगेर मलेशीयालगायतका मुलुक पठाउन सकिने अभिव्यक्ति दिएपछि आलोचना खेप्नु परेको थियो।

कतिपयले सत्ता गठबन्धन बनाउनका लागि पनि राणा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिले काम गरेको बताइएको छ।

विवादीत अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सहमत गराउन पनि राणाको भूमिका प्रधान रहेको बताइएको छ।

‘प्रधानमन्त्री कार्यालय नै आरजुले चलाउने गरेकी छन्। उनलाई डिफ्याक्टो प्रधानमन्त्री भन्दा पनि हुन्छ। साना भन्दा साना नियुक्तिमा पनि उनी नै हावी हुन्छिन्’, उच्च स्रोतले भन्यो,‘कांग्रेसको केन्द्रीय सदस्य भइकन अन्य पदाधिकारी भन्दा बढी शक्तिशाली निर्णय उनैले गर्दै आएकी छन्।’

राजदूत नियुक्तिदेखिका निर्णयमा पनि राणाको भूमिका बलियो रहेको बताइन्छ। डडेल्धुरा कांग्रेसमा विग्रहको कारण पनि राणा नै रहेको बताइन्छ। कर्ण मल्लसँग राणाको सम्बन्ध गतिलो नभएपछि उनलाई पार्टीको भूमिकाबाट गलहत्याउने काम भएको थियो।

राणाको अभिव्यक्तिको बचाऊमा कांग्रेसले पत्रकार सम्मेलन नै गरेको थियो। प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमा राणाको अभिव्यक्तिको बचाऊ गरेका थिए।

राणाका कारण अहिले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको कार्यशैलीको पार्टी भित्र र बाहिर आलोचना हुने गरेको छ। राणाले नै प्रकाशमान सिंहलाई मिलाउनका लागि सिर्जना सिंहलाई काठमाडौं महानगरको उम्मेदवार बनाउने सहमति गराएकी थिइन्। उनी सिंहको चुनाव प्रचारमा पनि पुगेकी थिइन्।

यसैगरी भरतपुरमा रेणु दाहाललाई उम्मेदवार बनाउने लेनदेनमा पनि राणाको भूमिका प्रधान रहेको बालुवाटार स्रोतले जनाएको छ। पछिल्ला चरणमा सरकारका निर्णयको विरोध हुनुको नेपथ्यको कारण पनि राणा नै रहेको बताइन्छ।

‘प्रधानमन्त्रीको आलोचना हुने गरेको छ तर त्यसको भित्री कारणचाहिँ प्रथम महिला नै हुन्’, स्रोतले भन्यो। प्रधानमन्त्री देउवाको परराष्ट्र मामिलामा पनि राणा विवादमा तानिएकी थिइन्। देउवाको अघिल्लो भारत भ्रमणपूर्व राणा नयाँ दिल्ली पुगेर तारतम्य मिलाएको सार्वजनिक भइसकेको थियो।

प्रतिक्रिया
सम्बन्धित