
चितवन, २५ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको धम्क्याउने बानी अझैसम्म नगएको टिप्पणी गरेका छन् ।
आज चितवनको नारायणगढमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धम्काएर खाएकाहरुको अहिलेसम्म पनि धम्काउने बानी नगएको बताएका हुन् ।
केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनले हारे देश दुर्घटना हुने बताएका थिए ।
सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष ओलीले आज धम्काएर खानेहरुको बानी भए पनि अब जमना बदलिएको भन्दै अब धम्काएर काम नचल्ने बताएका हुन् । गठबन्धनले हारेमा कुनै दुर्घटना नहुने भन्दै अध्यक्ष ओलीले बरु अब घटना हुने र त्यो घटना गठबन्धनले नराम्रोसँग हार बेहोर्ने ठोकुवा गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले एमाले र राप्रपाले नेतृत्व गर्ने भरतपुर र माडी देशकै सुन्दर स्थानीय तह बन्ने बताए।
भरतपुरमा ओलीकै अगाडी के भने विक्रम पाण्डेले, हेर्नुस् भिडियोमा:
यी दुवै स्थानीय तह धेरै सम्भावना बोकेका स्थानीय तह भएको उल्लेख गर्दै उहाँले एमाले राप्रपाको गठबन्धन विजयी भए देशले हेर्न लायक स्थानीय तह हुने दाबी गर्नुभयो । स्थानीय तहहरु भनेको जनताको आशाको केन्द्रबिन्दु भएको उल्लेख गर्दै उहाँले यहीँ नै विभिन्न सम्भावनाहरु खोजेर युवाहरुलाई रोजगार दिनुपर्ने बताए ।
नेकपा एमाले चितवनद्वारा आयोजित चुनावी सभालाई पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदीसहितका नेताहरुले सम्बोधन गरेका थिए ।















प्रतिक्रिया