७ कार्तिक २०८३, शनिबार

अमर–अरुण हत्या प्रकरणः फागोले आफ्नो अपराधकर्ममा ‘भुजा’लाई यसरी फसाए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । उर्लाबारी, ७० बर्षको उमेरमा पनि शिवा यादव सकिनसकि सिटी सफारी चलाउछन् । उनकी श्रीमती पार्वती मकै पोल्छिन् । बुढ्यौली उमेरमापनि उनीहरुको धपेडी उस्तै छ ।

परिवारकै गर्जो टार्न यि दुई संघर्षरत छन् । साथमा छोरा हुन्थ्यो भने कष्टसाध्य जीवन हुन्थेन भन्ने लाग्छ यि दम्पतिलाई । ‘लक्का जवान भइसकेको छोरोले केहि त गथ्र्यो, गाडी चलाउनपनि जानेको थियो’ शिवा यादवले भने, ‘अब के गर्ने त, खानका लागि आफै खट्नु त पर्यो ।

यादव परिवारले दुःखजिलो गरेर भएपनि सहज जीवनयापन चलाएका थिए । तर, एकाएक उनीहरुको खुसीमाथि खेलबाड भयो । एउटा विपन्न युवाको उर्जाशिल जिन्दगी नै उजाड पारियो । यसरी एउटा युवाको जीवन नै तहसनहस बनाउने पात्र अरु कोहि होइनन्, उर्लाबारी नगरपालिकाका कांग्रेस उम्मेद्वार खड्ग फागो हुन् ।

फागो मुख्य अभियुक्त रहेको कर्तव्य ज्यान सम्बन्धि घटनामा आफैबाट भए गरेको भनी सकारेर बकपत्र गरेकै कारण उर्लाबारी ७ का भुजा भनिने राजकुमार यादव मोरङ कारागारमा कैदी जीवन बिताउन बाध्य छन् । राजकुमार शिवा र पार्वती यादवका छोरा हुन् ।

२०६९ साल असार ५ गते । उर्लाबारी ५ मा अवस्थित फागोको घर अगाडी दुई युवाको विभत्स हत्या भएको थियो । साविक राजघाटका अमर धिमाल र इटहराका अरुण मगरलाई राति ८ बजे ढुङ्गाले किच्याएर निर्ममतापुर्वक हत्या गरिएको थियो ।

सोहि आक्रमणमा परी उर्लाबारी ५ का राजिव सावा लिम्बू गम्भीर घाइते बनेका थिए । अमर, अरुण र राजिव तीनैजना फागोको घर अगाडीको बाटो हुँदै पैदल हिडिरहेको बेला गौडो ढुकेर बसेको एक समुहले उनीहरु माथि जथाभावी आक्रमण गरेको थियो ।

अचेत भएर ढलेका तीन जनालाई एम्बुलेन्समार्फत अस्पतालतर्फ लगिएको थियो भने घटनास्थलमा ढिलो गरी प्रहरी पुगेको थियो । सो घटनामा करिब ७, ८ जना व्यक्तिको संलग्नता अनुमान गरिएपनि मुख्य आक्रमणकारी खड्ग फागो नै भएको निश्कर्ष निकाल्न प्रहरीलाई बेर लागेन । घरमै लुकेर बसेको अवस्थामा फागोलाई चारैतिरबाट घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले फागोको साथबाट मेड इन युएसए लेखिएको १ थान पेस्तोलसमेत बरामद गरेको थियो ।

फागो त्यसबेला नेपाली कांग्रेसको मोरङ ९ नम्बर क्षेत्रीय सभापति थिए । फागोको राजनीतिक पहुँचकै कारण नितान्त व्यक्ति हत्याको विषयलाई ‘राजनीतिक रङ’ दिएर कर्तव्य ज्यान सम्बन्धि मुद्धा अभियोजनलाई फितलो बनाइएको त्यसबेला अनुसन्धानमा संलग्न एक प्रहरीले नाम नबताउने सर्तमा उल्लेख गरे । उनले भने, ‘राजनीतिक पहुँचकै भरमा फागोलाई उन्मुक्ति मिल्यो, निमुखाका छोराले सजाय भोगे ।’

त्यो बेला करिब २१ वर्ष उमेरका थिए राजकुमार यादव । उनी फागोका ‘दाहिने हात’ मानिन्थे । समुह नै बनाएर गतिविधि गर्ने फागोका सबैजसो राजनीतिक, गैरराजनीतिक कार्यमा यादव छुट्दैनथे । उनी उर्लाबारी र आसपासमा ‘भुजा’ नामले चिनिन्थे । बाबुआमा चिउरा भुजाको ब्यापार गर्ने भएकाले राजकुमारलाई उनका साथीभाईहरुले सानैबाट ‘भुजा –भुजा’ भनेर बोलाउने गरेका थिए । पछि स्थानीयमाझ उनी भुजा नामले नै परिचित भए ।

उनै भुजा विगत ८ वर्षदेखि जेलजीवन भोगिरहेका छन् । आफ्नो छोराले के कति गल्ति गर्यो शिवा अनभिज्ञता प्रकट गर्छन् । भन्छन्, ‘मान्छे कसले–कसले मार्यो, मेरो छोराले दुःख पायो ।’ स्रोतका अनुसार फागो परिवारबाट उर्लाबारीकै कुनै एक ठाउँको करोडौ मुल्यपर्ने एककट्ठा घडेरीसंगै दुईतले आरसीसी घर बनाइदिने आश्वासन भुजालाई दिइएको छ । उनको जीवन निर्वाहको ग्यारेण्टीपनि फागो परिवारले लिएको बताइन्छ ।

जसका कारण सामुहिक आक्रमणमा भएको हत्या काण्डको उनी एक्लैले जिम्मा लिने गरी सरकारी वकिल कार्यालयमा बकपत्र गर्न तयार भए । उता भुजाको बकपत्रले फागोलाई उन्मुक्ति मिल्यो । यद्यपि छोरालाई के–कति आश्वासन दिइएको छ आफुलाई केहि थाहा नभएको शिवाको भनाई छ । अहिलेसम्म आफुलाई कसैले एक सुकोपनि नदिएको उनी बताउछन् ।

‘अब राजकुमार जेलबाट छुटेपछि नै सबै थाहा होला, मलाई केहि थाहा छैन,’ उनले भने । कतिसम्म भने यतिबेला ‘मान्छेका सुखदुःखमा साथ दिने उम्मेद्वार’ भनेर फागोका समर्थकले फेसबुकका भित्ता रङ्ग्याइरहेका छन् ।

तर, न चुनावका बेला न अरुबेला नै, फागोले शिवा यादव र उनकी पत्निलाई सञ्चोबिसञ्चो सोध्नसमेत आवश्यक ठानेका छैनन् । ‘दिनहुँ देखाभेट हुन्छ उहाँ (फागो) केहि भन्नु हुँदैन’ शिवाले सुनाए । यादव दम्पती उर्लाबारी ७ मा डेरामा बस्ने गरेका छन् ।

कर्तव्य ज्यान मुद्धामा एक वर्ष सजाय भुक्तान गरेर फागो छुटेका हुन् । जेलबाट छुटेका फागो सयौको संख्यामा गाडी अघिपछि लाएर ‘शान’का साथ घर आइपुगे । उनलाई उर्लाबारी नगर परिक्रमा समेत गराइयो ।

‘स्वागत र सम्मानमा अबिरजात्रा र फुलमाला लगाउनेको कमि देखिएन’ त्यो क्षण स्मरण गर्दै एक स्थानीयले भने, ‘मानौ, खड्ग फागो सगरमाथाको सफल आरोहण गरेर फर्किएका हुन् ।’ हत्या आरोपित मान्छे छुट्दा जयजयकार गर्ने भीडकै कारण फागोमा दह्रो आत्मबल बढेको उनले बताए ।

भने, ‘मैले जे गर्दापनि हुन्छ भन्ने अभिमान बोकेका फागोलाई कानुनले छुटकारा दिएपनि, जनमतले दण्डित गनुपर्ने उपयुक्त बेला आएको छ । आगामी स्थानीय तह निर्वाचनका लागि उर्लाबारी नगरपालिकाको मेयर पदमा दोस्रो पटक उम्मेद्वार बनेका फागोलाई जनमतकै बलमा शर्मनाक पराजय तुल्याउन सके त्यो उर्लाबारीबासीकै हितमा हुनेछ ।’