
बागलुङ, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् ।
नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत वडा नं. ७ वडा कमिटि रेशले शनिबार नुन्थलामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनताले एमालेलाई विजयी गराउन आतुर रहेको भन्दै नेपालीले एमालेले चुनाव जित्ने सूचनापछि गठबन्धनमा रहेका दलका नेताहरु मतदातालाई धम्काउँदै हिँडेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज संघीय सांसद डा.सूर्य पाठकले नेकपा (एमाले) नेतृत्व रहेका तीनवटै सरकारले गरेको कामका आधारमा नेपाली जनताले (एमाले)का उमेदवारहरुलाई विजयी गराउने बताए ।
नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले काठेखोलाको आर्थिक, विकास, सामाजिक रुपान्तरणका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गरे ।
काठेखोला गाउँपालिकामा एमालेका उमेदवार डिल बहादुर कार्की र उपाध्यक्षका उमेदवार कोपिला पुनले काठेखोलाको पहिचान, विकास र प्रवद्र्धनका लागि एमालेले लिएका कार्यक्रम, योजना र रणनीतिका आधारमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनीहरुले रेशवासी जनताले लामो समयदेखि नेकपा एमालेको पक्षमा मतदान गरेर एमालेलाई स्थापित गर्न महत्वपूर्ण योगदान गरेको भन्दै यो स्थानीय निर्वाचनमा थप मत दिएर आफुहरुलाई विजयी गराउनका लागि आव्हान गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु डिल्लीराज गौतम, हुमाकुमारी जि.सी. (अञ्जु), रामबहादुर जिसी, हरिनारायण गौतम र हरि बहादुर कुँवर, अनेरास्ववियूका जिल्ला संयोजक रोशन कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले रेशका अध्यक्ष भूमिराज शर्माको अध्यक्षता, पूर्व अध्यक्ष कृष्ण कार्कीको स्वागत र सचिव रामचन्द्र गौतम र उपसचिव महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
















प्रतिक्रिया