८ कार्तिक २०८३, आइतबार

आचारसंहिता मिच्दै कार्यक्रममा सरिक हुन लागेको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आचारसंहिता मिच्न लागेको भन्दै उजुरी परेको छ ।

नेपाली कांग्रेसका सभापति देउवा निर्वाचन आचारसंहिता मिचेर चुनावी कार्यक्रममा सहभागी हुन भरतपुर जान लागेको भन्दै उजुरी परेको हो ।

गठबन्धनले बिहबिार भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधनका लागि देउवा त्यसतर्फ जाँदैछन् ।

देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् ।

‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,’ उजुरीमा भनिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले आचारसंहिताका विषयमा लिखित उजुरी परेको पुष्टि गरे ।

‘भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ,’ उनले भने । यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उनले बताए ।

जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको पौडेलले बताए ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् ।