मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

जनताले दिएको हौसलाले पुनः उम्मेदवार बनेको हुँ, जित सुनिश्चित छः सापकोटा

एसपी उप्रेती २०७९ वैशाख २० गते १९:५४

-एसपी उप्रेती

हाल देशैभर स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । विभिन्न दलहरुले आआफ्नै चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । २०७४ सालमा जनप्रतिनिधि रहेकाहरुले आफ्ना बाँकी काम पूरा गर्ने संकल्प लिएर चुनावमा होमिएका छन् ।

देशको राजनीतिक पृष्ठभूमि पनि फेरिएको छ । नेकपा एमालेका विरुद्धमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेको छ । यद्यपि एमाले पनि आफूलाई कमजोर ठान्दैन । स्थानीय तहदेखि केन्द्रीय सरकारको समेत नेतृत्व गर्ने एमालेको दाउ छ ।

अब स्थानीय तहको निर्वाचनका लागि के कसरी तयारी र चुुनावी अभियान भइरहेको छ त ? यसै क्रममा एमालेबाट झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार त्रिलोचन सापकोटा उठेका छन् ।

उनले करिब २०४२/४३ सालदेखि बालापनमै जनवादी सांस्कृतिक गीतहरुमा नृत्य गर्दै कम्युनिष्ट स्कुलिंगबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसबेला जनताका गीतले मन छोएपछि विद्यालयदेखि नै सापकोटाले आफ्नो सक्रिय राजनीति सुरु गरेका थिए । करिब २५ वर्षे सक्रिय राजनीतिक यात्रामा हिँडिरहँदा युवाको लोकप्रयि बनेका उनी २०७४ मा स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिका वडा नं. १ को वडाध्यक्ष भएर पाँच वर्ष काम गरे । युवा पुस्तामा निकै चर्चित, स्पष्ट वक्ता एवम् विकासप्रेमी नेताका परिचय बनाएका सापकोटा समाजसेवी एवम् व्यवसायी पनि हुन् । प्रस्तुत छ उनै सापकोटासँग दैनिक नेपालका लागि एसपी उप्रेतीले गरेको कुराकानी ।

१. तपाईँले आफ्नो क्षेत्रमा यस कार्यकालमा विकासको सुनौलो सुरुवात गरेको स्थानीयले बताउँछन् । फेरि वडाध्यक्षमा उम्मेदवारी दिनुभयो नि किन ?

२०७४ सालको स्थानीय तहको निर्वाचनपछि ५ वर्ष जनताको काम गर्ने अवसर मिल्यो । हामीले त्यो बेला प्रतिवद्धता गरेका सबै कार्यहरु गर्न सफल भएका छौँ । हामीले स्वास्थ्य, शिक्षा, खानेपानी तथा भौतिक पूर्वाधारतर्फका प्रशस्तै कामहरु गरेका छौँ । त्यस्तै, विद्युत विस्तारका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ । हामीले आफैँ भन्ने भन्दा पनि आम जनताहरुले यो कुरा अनुभूति गर्नुभएको हामीलाई भन्नुहुन्छ । त्यही दृढता जनताको भरोसालाई साथमा राखेर आफूले थालेका केही अपूरा कामहरुलाई सार्थक तुल्याउन अर्को कार्यकालका लागि पनि उम्मेदवार बनेको हुँ ।

विगतको कार्यकालमा विद्युतमा ५० प्रतिशत अनुदानको कार्यक्रम ल्याएकोमा अब शतप्रतिशत अनुदानको कार्यक्रमा लागू गरिनेछ । त्यस्तै, कृषकहरुलाई प्रोत्साहन गर्न कृषि औजारहरु वितरण गर्ने, उनीहरुले गरेको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने अहम भूमिका निर्वाह गरिनेछ ।

२. वडाध्यक्ष बन्दा तपाईँले गरेका कामहरुका पोइन्टमा भनिदिनुहुन्छ ?

मैले अघि पनि उल्लेख गरे विगत पाँच वर्षमा जनताको नजिकमा रहेर कार्य गरिरहँदा नेकपा (एमाले) गाउँ कमिटीले आफ्नो घोषणापत्रमा भएका करिब सबै कार्यहरुलाई मूर्तरुप दिने प्रयास गरेको छु । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी, विद्युत विस्तार लगायतका कार्यहरुलाई मेरो कार्यकालमा अघि बढाएको छु ।

३. अब फेरि प्रत्यक्ष जनतालाई अनुभूति हुने विकासका योजनाहरु के के छन् ?

पहिलो त आफूले गत कार्यकालमा थालेका अपूरा कार्यहरुलाई पूर्णता दिने रहेको छ । मेरै पहलमा सुरुवात गरिएका पूर्वाधार निर्माण, सडक विस्तारलगायतका कार्यहरुलाई सम्पन्न गर्ने मात्रै नभएर ति सडकमा कालोपत्रेको काम गर्ने लक्ष्य रहेको छ । त्यस्तै, मेरै कार्यकालमा सुरु भएको खानेपानी परियोजनालाई अब आम जनताको घरघरमा पुर्याउने कार्यलाई व्यवस्थित गरिने योजना रहेको छ । विगतको कार्यकालमा विद्युतमा ५० प्रतिशत अनुदानको कार्यक्रम ल्याएकोमा अब शतप्रतिशत अनुदानको कार्यक्रमा लागू गरिनेछ । त्यस्तै, कृषकहरुलाई प्रोत्साहन गर्न कृषि औजारहरु वितरण गर्ने, उनीहरुले गरेको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने अहम भूमिका निर्वाह गरिनेछ । त्यस्तै, स्वास्थ्यको क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर शिलान्यास गरेको पालिकास्तरीय अस्पताल हाल हल्दिबारी वडा नं. १ मै निर्माण भइरहेको छ । अबको कार्यकालमा सो अस्पतालबाट सेवा प्रदान गर्ने गरी अघि बढिनेछ । त्यस्तै, विशेषगरी नयाँ बस्ती बसेका स्थानमा भित्री सडकहरु निर्माण गर्नुपर्ने, ग्राभेल गर्नुपर्ने कार्यहरु गरिनेछ । यी लगायत जनताका दैनिक समस्याहरु हल गर्नका निम्ती जनप्रतिनिधिहरुले गर्नुपर्ने सहजिकरण लगायत हाम्रा योजनाहरु रहेका छन् ।

४. अहिले माहोल फेरिएको छ । नेकपा एमालेविरुद्ध सत्तारुढ गठबन्धनले देशव्यापी रुपमै चुनावी तालमेल गरेको छ । यहाँको वडामा कस्तो अवस्था रहेको छ ? चुनाव जित्न चुनौतीहरु के के छन् ?

आम नागरिकहरुले नै हाम्रा विगतका कार्यहरुलाई मूल्यांकन गरेर नकेपा (एमाले) को टिमलाई पुनः उम्मेदवार बन्न हौसला प्रदान गर्नुभएको हो । तसर्थ हाम्रो सम्पूर्ण टिमले जित्नेमा हामी विश्वस्त छौँ । जहाँसम्म गठबन्धनको कुरा छ उहाँहरुले आफ्नो योजना जनतालाई भन्ने भन्दा पनि केवललाई एमालेलाई कसरी हराउने भन्नेमा उहाँहरु हुनुहुन्छ । तर जनताले भने काम गर्ने एमालेलाई किन हराउने हामी जिताउँछौँ भनेरै हामीलाई हौसला दिनुभएको छ । त्यसैले हामीले निर्वाचन अत्याधिक बहुमतका साथ जित्छौँ भन्ने निश्चित छ ।

५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा म के भन्छु भने जसरी हामीले विगत पाँच वर्षमा इमानदारपूर्वक जनताका कामहरु गर्यौँ त्यसैगरी अबका कार्यकाल पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा आएका छौँ । हामीले कुनै पनि राजनीतिक, लैंगिक, जातिय वा अन्य कुनै पूर्वाग्रहबिना जनताका निम्ती साझा रुपमा काम गर्यौँ । त्यही कुरालाई मध्यनजर गरेर पनि हामीलाई मत दिनुहुन्छ भन्ने विश्वास गर्दै विकासका लागि हल्दिबारीमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहितका सबै सदस्यहरुलाई मत दिएर विजय गराइदिनुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित