
झापा, २० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट सत्तारुढ पाँच दलीय गठबन्धनको एकैपटक पराजय हुने बताएका छन् ।
मंगलबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धाप बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले आगामी दुवै निर्वाचनबाट एमालेले गठबन्धनका दलहरुलाई पराजित गर्ने बताए । अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको भन्दै कटाक्ष गरे ।
‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल) लाई एकै पटक ‘कर्याककुरुक’ पारेर फाल्दिनु जति आनन्द अरु केहीमा हुँदैन,’ अध्यक्ष ओलीले भने । एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको उनले बताए ।
‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी सबै अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’
उनले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको पनि बताए । ‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ,’ अध्यक्ष ओलीले भने । उनले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ हुने उदघोष गरे । पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने ओलीको भनाई छ ।















प्रतिक्रिया